मोरङ : मोरङमा १ हजार ३३ किलोग्रामभन्दा बढी लागू औषध गाँजा र मिनी ट्रकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० सोमबारे स्थितमा संयुक्त प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिजुवा मोरङ र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बङ्गा चुनिबारीबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उक्त कारबाही गरेको हो ।
उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा धानको भुसाको बोरा मुनि कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ३१ पोका गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको कुल तौल १०३३ किलो ४८४ ग्राम रहेको छ।
प्रहरीले गाँजा र मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर ९ हिले बस्ने २८ वर्षका उमेश तामाङ रहेका छन् । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij