Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक (भिडियो)

पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक (भिडियो)

काठमाडौं :  आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो पहिलो प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको हो।

लोक स्वादमा तयार गरिएको गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। गीतमा अञ्जु पन्त, प्रशान्त शिवाकोटी र रवि ओडको स्वर सुन्न सकिन्छ भने मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका छन्।

गीतको भिडियोमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ आकर्षक शैलीमा प्रस्तुत भएका छन्। कलाकारहरूको केमेस्ट्री, लोक लयमा आधारित नृत्य र जीवन्त प्रस्तुतीकरणले गीतलाई थप आकर्षक बनाएको छ। गीतको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।

गीत सार्वजनिक गर्दै निर्माता तथा संगीतकार अर्जुन पोखरेलले चलचित्रको प्रचारलाई नयाँ ऊर्जा दिने उद्देश्यले फरक शैलीको गीत तयार गरिएको बताए। उनका अनुसार गीतले चलचित्रको कथा र भावनालाई संकेत गर्नुका साथै दर्शकलाई मनोरञ्जन पनि दिनेछ।


गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्माण पक्षले गीतले चलचित्रप्रति दर्शकमाझ उत्साह अझ बढाउने विश्वास व्यक्त गरेको छ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा बटुलेको थियो। अहिले सार्वजनिक भएको ‘दिलमा ठाउँ छ’ले त्यो उत्साहलाई अझ बलियो बनाउने अपेक्षा निर्माण पक्षको छ।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय रहेको छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता रहेका छन्।

चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन, रोशन श्रेष्ठको एक्सन निर्देशन, किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको कस्ट्युम डिजाइन रहेको छ।

काठमाडौं उपत्यकामा चलचित्रलाई काफिया फिल्म्सले तथा उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij