Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौंः ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले भावुक बन्दै राष्ट्रिय टोलीबाट संन्यास लिएका हुन्।

आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएको सिट्टी बज्नासाथ नेयमार मैदानमै रोएका थिए, जहाँ उनलाई सहकर्मीले सम्हालेका थिए।

ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको यति चाँडै (अन्तिम १६ बाटै) बाहिरिएको हो। खेलमा एर्लिङ हालान्डले दुई गोल गर्दा नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए।

‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। तर अब यो यात्रा सकियो्।’ नेयमारले ग्लोबोसँग कुरा गर्दै भने, ‘मैले यहीँबाट (मेटलाइफ स्टेडियम) सुरुवात गरेको थिएँ र यहीँ आएर अन्त्य गरें।’

नेयमारले सन् २०१० को अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत मेटलाइफ स्टेडियमबाटै ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गरेका थिए। हालका वर्षहरूमा चोटका कारण धेरै समस्या झेलेका ३४ वर्षीय नेयमारले ब्राजिलका लागि ऐतिहासिक ८० गोल गर्दै संन्यास लिएका छन्। उनी महान् खेलाडी पेले (७७ गोल) लाई पछि पार्दै ब्राजिलको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी हुन्।

आइतबार नर्वेविरुद्ध गरेको गोलसँगै नेयमार पेलेपछि चारवटा फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडी समेत बनेका छन्। उनले ब्राजिलका लागि कुल १३० खेल खेलेका छन्, जुन काफु (१४२ खेल) पछि ब्राजिलको इतिहासमा दोस्रो धेरै हो।

ब्राजिलको यो लज्जास्पद हारपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले अब टोलीमा ‘नयाँ चक्र’ सुरु गर्ने समय आएको बताएका छन्। प्रशिक्षक एन्सेलोटीले भने, ‘यो नतिजा निकै निराशाजनक छ र हामी सबै दुःखी छौं। मलाई लाग्दैन कि हामी हार्न लायक थियौँ, तर यो फुटबल हो र हामीले यसलाई स्वीकार्नुपर्छ। हामी यो हारबाट पाठ सिक्दै नयाँ योजनाका साथ अघि बढ्नेछौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट