चितवन : चितवनका चर्चित चिकित्सक तथा पूर्व प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै डा. अधिकारीले सक्रिय राजनीतिबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्। उनले अब आफ्नो सम्पूर्ण समय, अनुभव र क्षमतालाई स्वास्थ्य सेवा तथा समाजसेवामा केन्द्रित गर्ने बताएका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट तत्कालिन माओवादी केन्द्रका उम्मेदवार बनेका डा. अधिकारी प्रचण्डले उक्त क्षेत्र छाडेपछि चुनावी मैदानमा उत्रिएका थिए। चिकित्सकको पहिचानसँगै राजनीतिमा समेत सक्रिय बनेका उनी पछिल्लो समय पार्टीका विभिन्न गतिविधिमा संलग्न रहँदै आएका थिए।
वक्तव्यमा उनले राजनीतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव र विचारप्रति सम्मान व्यक्त गर्दै वर्तमान समय केवल विचारधारा र ‘वाद’को बहसभन्दा पनि विकास, सुशासन र परिणाममुखी प्रतिस्पर्धाको भएको उल्लेख गरेका छन्। उनले राजनीतिक जिम्मेवारीबाट अलग भए पनि सचेत नागरिकका रूपमा समाज र राष्ट्रप्रति आफ्नो योगदान निरन्तर रहने बताएका छन्।
डा. अधिकारीको राजनीतिबाट बाहिरिने निर्णयलाई चितवनको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उनी अब पुनः आफ्नो मूल पेशा तथा सामाजिक सेवामा केन्द्रित हुने संकेत देखिएको छ।चितवनमा लोकप्रिय चिकित्सकका रूपमा परिचित डा. अधिकारीको यो निर्णयले स्थानीय राजनीतिक वृत्तमा समेत चासो पैदा गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij