काठमाडौँ : विपद् व्यवस्थापनका गतिविधिहरूको समीक्षा र सरोकारवाला निकायहरूबिचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘अभ्यास हातेमालो’ को आठौँ संस्करण सोमबारदेखि सुरु भएको छ ।
नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी अनुप जङ्ग थापाले जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बिच यस अभ्यासको विधिवत् शुभारम्भ गरे ।
तीन दिनसम्म सञ्चालन हुने यस अभ्यासमा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न मन्त्रालय, सरकारी निकायहरूका साथै नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सक्रिय सहभागिता रहेको छ। मुख्यतया मनसुनको समयमा निम्तिन सक्ने बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिका सम्भावित परिदृश्यलाई आधार मानी प्रतिकार्य क्षमता र आपसी सहकार्य सुदृढ बनाउनु यस अभ्यासको मुख्य लक्ष्य रहेको छ ।
नेपाली सेनाको समन्वय र गृह मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेश तहबाट सुरु भएको ’अभ्यास हातेमालो’ अहिले जङ्गी अड्डामा वार्षिक रूपमा आयोजना गरिँदै आएको छ । सेनाले यस अभ्यासलाई आगामी दिनहरूमा क्रमिक रूपमा प्रादेशिक र जिल्ला स्तरसम्म समेत विस्तार गर्ने योजना बनाएको छ ।
शुभारम्भ कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका उच्च अधिकारीहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यस किसिमको अभ्यासले विपद्को समयमा सबै निकायबिच एकीकृत रूपमा कार्य गर्न र जनधनको क्षति न्यूनीकरण गर्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij