Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात

विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले यूएईलाई ३७ रनले हराउँदै घरेलु सिरिजको विजयी सुरुवात गरेको हो । नेपालले दिएको २०१ रनको सामान्य लक्ष्य पछ्याएको यूएई ४८.२ ओभरमा अलआउट हुँदै १६३ मा समेटियो । 

यूएईका लागि हरप्रित सिंहले ३९, मुहम्मद वसीमले ३४, अक्षदीप नाथले ३० तथा आर्यान्स शर्माले १८ रन जोडे। निलान्स केसवानीले १८ रन जोडे।

बलिङतर्फ नेपालका करण केसीले ९.२ ओभरमा २ मेडेनसहित १९ रन खर्चेर चार विकेट लिए । यस्तै, सन्दीप लामिछानेले १० ओभरमा २ मेडेनसहित २५ रन खर्चेर दुई विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ५० रन खर्चेर दुई विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक सफलता हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४८.२ ओभरमा २०० रनमा अलआउट भयो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ७६ रन जोडे ।  ९० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। अन्य ब्याट्म्यानले दोहारो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ यूएईका जुनैद सिद्धिकीले ९.२ ओभरमा ३ मेडेनसहित ३३ रन खर्चेर तीन विकेट लिए भने अजय कुमारले ९ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए। यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए ।

आजको खेलमा नेपालले ब्याटिङमा खराब सुरुवात गरे पनि दीपेन्द्रको अर्धशतकीय पारीमा २०० सम्मको स्कोरमा पुगेको थियो । बलिङ र फिल्डिङ कसिलो बनेपछि नेपालले सानो लक्ष्य पनि डिफेन्ड गरेको हो । नेपालले अब अर्को खेलमा बुधबार ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट