Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल मनाइँदै

तराई-मधेसमा हर्षोल्लासका साथ जुडशीतल मनाइँदै

सिरहा :  नयाँ वर्षको स्वागतसँगै सिरहासहित तराई-मधेसका जिल्लाहरूमा आज जुडशीतल पर्व उत्साहका साथ मनाइँदैछ। विक्रम संवत्‌को नयाँ वर्ष प्रारम्भको अवसरमा मनाइने यो दुईदिने पर्वको पहिलो दिन मंगलबार ‘सतुवाइन’ मनाइएको थियो भने आज वैशाख २ गते जुडशीतल पर्वको मुख्य विधि सम्पन्न गरिँदैछ। 

यो पर्वले जीवनमा शीतलता, आरोग्यता र प्रकृतिसँगको सामीप्यतालाई झल्काउने गर्दछ। पर्वको मुख्य विशेषताका रूपमा आज घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिञ्चित गर्दै दीर्घायु र सुखद जीवनको आशीर्वाद दिने गर्छन्।
वैशाख सङ्क्रान्तिको पहिलो दिन सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत कूलदेवतालाई चढाएर दान गर्ने परम्परा छ। आज दोस्रो दिन भने कूलदेवताको पूजाआराधना गरी दही, मुन्गाको तरकारी, बरी र कढी जस्ता विशेष परिकार पकाएर खाने चलन छ। गर्मी मौसममा शरीरलाई स्वास्थ्य राख्ने सुपाच्य परिकारहरूको प्रयोग गर्नु यस पर्वको वैज्ञानिक पक्ष मानिन्छ।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यस पर्वमा सहकालको कामना गर्दै मैथिल समुदायका युवाहरू आज मध्याह्नमा एकआपसमा धुलो, माटो र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने तयारीमा छन्। माटो र पानीको यो खेललाई प्रकृतिप्रतिको सम्मानका रूपमा लिइन्छ। यति मात्र नभई, जुडशीतलका अवसरमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी हालेर वर्षभरि चिस्यान कायम रहोस् भन्ने कामना समेत गरिन्छ।

मिथिला क्षेत्रमा सबै जाति र समुदायले समान रूपमा मनाउने यो पर्वले आपसी सद्भाव, मेलमिलाप र सहकार्यको सन्देश प्रवाह गर्दछ। नयाँ वर्षको सुरुवातसँगै कृषि कर्मका लागि समय अनुकूल रहोस् र प्रकृतिले सबैको रक्षा गरोस् भन्ने मुख्य उद्देश्यका साथ यो पर्व मनाउने गरिएको स्थानीय जानकारहरूको भनाइ छ। विशेष गरी सिरहाको गोलबजार लगायतका क्षेत्रमा बिहानैदेखि जुडशीतलको छुट्टै रौनक देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij