Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कीर्तिपुरमा मृत कागमा बर्ड फ्लू पुष्टि

कीर्तिपुरमा मृत कागमा बर्ड फ्लू पुष्टि

काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ठूलो सङ्ख्यामा मृत भेटिएका कागहरूमा बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको छ। कीर्तिपुर नगरपालिका र पशु सेवा विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी आज गाडेको छ।

“त्यहाँ अझै मरेका काग भेटिएका छन्। सबै काग आजै सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्नेछौँ,” नगरपालिकाकी पशु सेवा प्रमुख सुशीला गैरेले बताउनुभयो। उहाँका अनुसार एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यान क्षेत्रमा काग मरेको जानकारी गराएका थिए।

प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशु सेवा विभागको प्रयोगशालामा पठाइएको थियो। प्रयोगपछि ती कागमा बर्ड फ्लू पुष्टि भएको हो। त्यसपछि नगरपालिका र विभागको टोलीले मृत काग सङ्कलन गर्ने निर्णय गरेको थियो।

साथै सोही स्थानमा अन्य पक्षी मृत भेटिएमा नमूना सङ्कलन गर्न पनि टोलीलाई निर्देशन दिइएको थियो। सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन सुरु गरिएको थियो। आज सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ।

उद्यान क्षेत्रमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताउनुभयो। “खुला रूपमा जताततै उड्ने पक्षी भएकाले कुखुरामा देखिने बर्ड फ्लूभन्दा यसको नियन्त्रण जटिल हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार कीर्तिपुर नगरपालिकाले कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचना समेत जारी गरेको छ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्यायले मृत कागमा ‘एच फाइभ एन वन (H5N1)’ र ‘एच नाइन (H9)’ गरी दुवै प्रकारका बर्ड फ्लू भाइरस देखिएको जानकारी दिनुभयो। डुलुवा पक्षीमा पर्ने कागमा फिरन्ते चरामार्फत सङ्क्रमण भएको हुनसक्ने उहाँको अनुमान छ। केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसैगरी कागमा सङ्क्रमण देखिएको उहाँले स्मरण गराउनुभयो।

यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले यसले अन्य चरामा पनि सजिलै सर्न सक्ने जोखिम रहेको उल्लेख गर्नुभयो। “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला पस्न नसक्ने गरी खोर व्यवस्थापन गर्न तथा खुला रूपमा चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ,” उहाँले भन्नुभयो।

सङ्क्रमण पुष्टि भएको भन्दै अन्यत्रका कागलाई खोजी–खोजी मार्ने कार्य नगर्न पनि उहाँले आग्रह गर्नुभयो। साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा स्रोत नखुलेको सस्तो मासु उपभोग नगर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट