काठमाडौं : निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरेको विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आजदेखि यी केन्द्रहरू पूर्ण रूपमा बन्द हुने निर्णय जारी गरिएको छ।
आयोगले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय र सेवा प्रवाह प्रभावकारी बनाउन गत पुस ११ गते निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआईडिसी) स्थापना गरेको थियो। साथै, माघ ५ गते कल सेन्टर र माघ ११ गते संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएको थियो। मतदान र मतगणना सम्पन्न भएपछि आजदेखि ती सबै एकाइ र केन्द्रहरू बन्द गरिएका हुन्।
निर्वाचन अवधिभर, आयोगका सूचना सदाचार प्रवर्द्धन एकाइले ९९८ हानिकारक सूचना पहिचान गरी नियामक निकायमा पठाएको छ। विद्युतीय मतदाता शिक्षा एकाइले ७०४ वटा भिडियो, पोस्टर र अन्य सामग्री निर्माण गरी डिजिटल प्लेटफर्ममा प्रकाशन तथा प्रसारण गरेको थियो।
कल सेन्टरले ८,२२० जिज्ञासा सम्बोधन गरेको छ भने जेइओसीले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी, सुरक्षा समन्वय, ट्र्याकिङ र रिपोर्टिङको काम त्रुटिरहित रूपमा सम्पन्न गरेको छ।
निर्वाचन सञ्चालनमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूलाई आयोगले धन्यवाद र आभार व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij