चितवन : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उछिनेको देखिएको छ। पछिल्लो मतगणना अद्यावधिक अनुसार हालसम्म ८१ लाख मत गणना हुँदा श्रम संस्कृति पार्टीले २ लाख ८४ हजार ५३५ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ७१ हजार ८९६ मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ उल्लेख्य सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि स्पष्ट अग्रता कायम राखेको छ। रास्वपाले हालसम्म ३९ लाख १४ हजार २६५ मत प्राप्त गरेको छ, जुन गणना भएको मतको करिब ४८.२ प्रतिशत हो। त्यस्तै नेपाली कांग्रेसले १३ लाख १९ हजार ६१२ मत (१६.३ प्रतिशत) प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले ११ लाख १९ हजार ४०३ मत (१३.८ प्रतिशत) सहित तेस्रो स्थानमा रहेको छ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ५ लाख ७५ हजार ८३७ मत प्राप्त गरेको छ। उता उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १३ हजार ६४६ मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल खसेको मत १ करोड ९ लाख ७७ हजार ७११ पुगेको छ भने समानुपातिकतर्फको मतगणना अझै जारी रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij