Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन–२ मा रवि लामिछानेलाई जेल प्रसंगमा अप्ठेरो प्रश्न, संयमित जवाफ

चितवन–२ मा रवि लामिछानेलाई जेल प्रसंगमा अप्ठेरो प्रश्न, संयमित जवाफ

चितवन : चितवन–२ मा घरदैलो अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन–जी आन्दोलनका बेला जेलबाट निस्किएको विषयमा एक मतदाताले प्रत्यक्ष प्रश्न गरेका छन् ।

सहकारी ठगीसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका बेला भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा जेलबाट बाहिरिएको प्रसंग उठाउँदै एक प्रौढ मतदाताले सोधे, “जेलबाट धेरै कैदीबन्दी निस्किए । तपाईं पनि निस्किनुभयो । कैदी निकाल्ने कार्यको नेतृत्व तपाईंले गर्नुभएको चर्चा छ, त्यो कति सत्य हो ?”

यस प्रश्नमा लामिछानेले संयमित र तर्कपूर्ण जवाफ दिँदै आफूले कुनै प्रकारको नेतृत्व नगरेको स्पष्ट पारे । उनले २४ गतेको घटनाबारे सबैभन्दा पहिले आफू नै छानबिन आयोगमा उपस्थित भएर बयान दिएको दाबी गरे ।

“जेलभित्र ५–६ वटा फलामे ढोकाभित्र बसेको मान्छेलाई आयोगले बोलाएपछि गएर सबै कुरा बताएँ । मेरो बयानपछि आयोगका अध्यक्षले नै अन्तर्वार्तामा रवि लामिछानेको गल्ती रहेनछ भनेर भन्नुभएको मैले जेलभित्रै हेरेँ,” उनले भने ।

आलोचकहरूले आफू जेलबाट भागेको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले जेल प्रशासनकै पत्रका आधारमा आफूलाई बाहिर पठाइएको दाबी गरे । “जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाएपछि के गर्ने ? मलाई बाहिर आगो लगाइरहेको भीडतर्फ पठाइयो,” उनले भने ।

लामिछानेले आफूले जेल जोगाउन भूमिका खेलेको भन्ने कुरा जेलरले पनि सार्वजनिक रूपमा भनेको दाबी गरे । साथै उनले आफूभन्दा टाढा रहेका नेताहरू हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको प्रसंग उठाउँदै भने, “मभन्दा एक किलोमिटर पर बसेका नेता हेलिकप्टरबाट भगाइयो । उनीहरू असुरक्षित भएर भागे, म सुरक्षित स्थानबाट लखेटिएँ ।”

उनले अन्त्यमा मतदातासमक्ष प्रश्न गर्दै भने, “जेलभित्र बसेको मान्छेको कैदी भगाउने क्षमता हुन्छ कि हुँदैन होला ? विना आग्रह–पूर्वाग्रह हजुरकै विवेकमा छोडिदिएँ ।”

चितवन–२ मा चुनावी माहोल तातिँदै जाँदा विगतका घटनाहरूलाई लिएर उम्मेदवारमाथि सीधा प्रश्न उठ्न थालेका छन् । लामिछानेले भने आफू कानुनी प्रक्रियामा सहकार्य गर्दै अघि बढिरहेको बताएका छन् ।

 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट