काठमाडौं : २२ वटा विभिन्न कम्युनिष्ट तथा समाजवादी घटकहरूको एकीकरणबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
‘तारा’ चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएको पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ तथा ‘राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र प्रस्तुत गरेको हो ।
प्रतिबद्धता पत्रमा विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक, सामाजिक र शासकीय संरचनामा आमूल परिवर्तन गर्ने संकल्प गरिएको छ । राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको पार्टीले जनाएको छ ।
पार्टीले विद्यमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई बढावा दिने खालको भएको ठहर गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणालीमा जेन–जी पुस्ताको मर्मअनुसार परिमार्जन गर्ने प्रस्ताव अघि सारेको छ । सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, मन्त्रिपरिषद् २५ जनामा सीमित गर्ने र सांसदलाई विधायकी भूमिकामा मात्र केन्द्रित गर्ने उल्लेख छ ।
सुशासनलाई मुख्य आधार बनाउँदै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता गरिएको छ । भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली लोकपाल गठन गर्ने तथा डिजिटल प्रशासनमार्फत सरकारी सेवा फेसलेस र पेपरलेस बनाउने उल्लेख छ ।
आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने, बहुआयामिक गरिबी ५ प्रतिशतमा झार्ने र प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । एक लाख रिटर्नी युवालाई उद्यमी बनाउने, उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र व्यापार घाटा न्युनिकरण गर्ने नीति अघि सारिएको छ ।
आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै दुई वर्षभित्र प्रमुख खाद्यान्नमा आत्मनिर्भर हुने, किसान पेन्सन र कृषि बीमाको ग्यारेन्टी गर्ने उल्लेख छ । दुई वर्षभित्र भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरी सुकुम्बासीमुक्त नेपाल घोषणा गर्ने योजना पनि छ ।
स्वास्थ्य सेवालाई पूर्ण रूपमा नि:शुल्क बनाउने, २०८८ सम्म शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने र शिक्षातर्फ ‘एक पालिका, एक स्मार्ट विद्यालय’ अवधारणा लागू गर्ने पार्टीको प्रतिवद्धता छ ।
पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने, काठमाडौं मेट्रो रेल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परराष्ट्र नीतिमा असंलग्नतालाई सुदृढ गर्दै सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने उल्लेख गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij