Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रत्ननगरको माधवपुरमा राष्ट्रिय स्तरको भजन तथा शंख ध्वनी प्रतियोगिता हुने

रत्ननगरको माधवपुरमा राष्ट्रिय स्तरको भजन तथा शंख ध्वनी प्रतियोगिता हुने

रत्ननगर : पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा नेपाली लोक भजन तथा संस्कृति संरक्षणका लागि भजन तथा शंख ध्वनी प्रतियोगिता आयोजना हुने भएको छ। माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ को आयोजनामा यही माघ २४ गते यो प्रतियोगिता सञ्चालन गरिने भएको हो।

युवा पुस्ताले बिस्तारै बिर्सिँदै गएको नेपाली लोक भजन संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले आज (शनिबार) रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। नेपाली समाजको आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानलाई पुनर्जागरण गर्ने लक्ष्य राखिएको छ। यस कार्यक्रममार्फत माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको समितिका सचिव पुरुषोत्तम कट्टेलले बताउनुभयो।

प्रतियोगिता माधवपुर खेलकुद विकास समितिको खेलकुद मैदानमा हुनेछ। कार्यक्रम सफल बनाउन ५ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। देशभरका भजन समूह तथा शंख वादकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा एक समूहमा अधिकतम २० जना सहभागी हुन सक्नेछन्। समूहगत पोसाक अनिवार्य गरिएको छ। भजन प्रस्तुति अवधि १० मिनेटको हुनेछ। भजन समूहहरूले माघ २० गतेसम्म नाम दर्ता गराउनुपर्नेछ।

भजन प्रतियोगितामा प्रथम हुने समूहलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी शंख ध्वनी प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने वादकहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। प्रतियोगिताका लागि आवश्यक शंख आयोजक समितिले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

कार्यक्रम व्यवस्थापनका लागि कुल करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। रत्ननगर नगरपालिका वडा नम्बर १५ ले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिनुभयो।

प्रतियोगिताको निर्णायक मण्डलमा गीतकार तथा संगीतकार अर्जुन पोख्रेल र लोकप्रिय गायिका बबिता वानियाँ रहनुभएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट