चितवन : यही शुक्रबार (माघ ९ गते) देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र **‘परिवर्तन’**को टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ। चलचित्रको प्रचार–प्रसारका लागि निर्देशक विजय केरुङसँगै कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली चितवन आइपुगेका हुन्।
पत्रकार भेटघाटमा निर्देशक केरुङले अहिलेको युगले नै ‘परिवर्तन’ खोजिरहेको उल्लेख गर्दै चलचित्रले देशको सीमाना र राष्ट्रियताको मुद्दा उठाएको बताए। उनका अनुसार ‘परिवर्तन’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो र यस्तो विषयवस्तु बोकेको फिल्म सहजै नआउने उनले दाबी गरे।
चलचित्रका नायक सुशील श्रेष्ठले ‘परिवर्तन’ केवल एक्सनप्रधान मात्र नभई, हामी सबैले खोजिरहेको परिवर्तन कहाँबाट सुरु हुन्छ भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको बताए। यस्तै, नायिका अञ्जना बराईलीले देशमा व्याप्त कुशासन कसरी गहिरोसँग जरा गाडेर बसेको छ, त्यसविरुद्धको विद्रोहलाई चलचित्रमार्फत प्रस्तुत गरिएको जानकारी दिइन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङले गरेका हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर, ट्रेलर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ राम्रो चासो बटुलिसकेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij