Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उदयपुरको अस्थायी फेरीमा यात्रुबाहक बस खस्यो, मानवीय क्षति भएन

उदयपुरको अस्थायी फेरीमा यात्रुबाहक बस खस्यो, मानवीय क्षति भएन

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–१ र भोजपुर आम्चोक गाउँपालिका जोड्ने सुनकोशी नदीमा निजी क्षेत्रले सञ्चालन गरेको फेरीबाट यात्रुबाहक बस नदीमा खसेको छ। प्रारम्भिक विवरणअनुसार, दुर्घटना कुनै प्राविधिक परीक्षण, सुरक्षा मापदण्ड र सरकारी स्वीकृतिविना सञ्चालन हुँदै आएको फेरीमार्फत बस तार्ने क्रममा भएको हो।

स्थानीय जनाअनुसार, सुनसरीको इटहरीबाट भोजपुरको बालंखातर्फ जाँदै गरेको बस सुनकोशी नदी पार गराउने क्रममा फेरी असन्तुलित भई बससहित नदीमा डुबेको थियो। चौदण्डीगढी नगरपालिका–१ का पूर्व वडाध्यक्ष रोइत तामाङका अनुसार फेरी असन्तुलित भएपछि बस नियन्त्रण बाहिर गई नदीमा खसेको हो।

फेरी फलामको संरचनामा प्लास्टिकका ड्रम जोडेर बनाइएको र जेनेरेटरको सहायताले लट्ठा तानेर सञ्चालन हुँदै आएको थियो। स्थानीयहरूले भने, अत्यन्त जोखिमपूर्ण उक्त फेरीमार्फत बस, बोलेरो, ट्र्याक्टरलगायत सवारी साधन नियमित रूपमा वारपार गराइन्थ्यो।

उदयपुर र भोजपुर जोड्ने सुनकोशी नदीको रानीटार क्षेत्रमा मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा छ। २०७४ सालमै शिलान्यास भएको पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीहरू यही अस्थायी फेरी प्रयोग गर्न बाध्य भएका थिए। फेरीबाट सवारी साधन मात्र वारिपारी गराइने र यात्रुहरू पैदल झोलुङ्गे पुल हुँदै पार हुने व्यवस्था रहेको छ। यही कारणले आजको दुर्घटनामा मानवीय क्षति हुन भने सकेको छैन।

स्थानीयका अनुसार फेरी सञ्चालकले ट्र्याक्टरबाट ४ हजार रुपैयाँ, बोलेरो तथा साना सवारी साधनबाट १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म र यात्रुबाहक बसबाट ३ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका थिए। आज नदीमा डुबेको बस पनि फेरी सञ्चालक रत्न तामाङकै रहेको जनाइएको छ।

स्थानीयहरूले भने, करिब २५ लाख रुपैयाँ लगानीमा सञ्चालन हुँदै आएको फेरीमा कुनै सरकारी अनुमति, नियमित अनुगमन र सुरक्षा मापदण्ड पालना नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट