Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

सरकार निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

जनकपुरधाम : गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री खनालले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार निर्वाचन गराउने म्यान्डेट लिएर बनेको सरकार रहेकाले निष्पक्ष निर्वाचन गराई छोड्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले भने– ‘यो सरकारको सुशासन तथा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने म्यान्डेट रहेको छ । सोही लक्ष्य अनुरूप वर्तमान सरकारले काम गरिरहेको छ ।’

उनले स्वतन्त्र व्यक्तिहरूको नेतृत्वमा बनेको सरकारले दलीय पक्षधरता नराखी निर्वाचन गराउने प्रतिबद्धता समेत व्यक्त गरे । देशमा निर्वाचनको माहौल निर्माण भइसकेको दाबी गर्दै गृहमन्त्री खनालले यसका लागि नागरिक तथा त्यसभित्र पनि जेनजी पुस्तासँग सहकार्य गरेर सरकार अगाडि बढिरहेको बताए ।

अर्को एक प्रसङ्गमा गृहमन्त्री खनालले अपराध रोक्न सरकार कटिबद्ध रहेको समेत बताए । उनले अपराध तथा हिंसा नियन्त्रणका लागि सरकारले सुरक्षा निकायको मनोबल बढाउने दिशामा समेत काम गरिरहेको बताए ।

गृहमन्त्री खनालले अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पायो त्यो बोल्न छुट नहुने समेत बताए । उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा साम्प्रदायिक हिंसा र धार्मिक द्वन्द्व फैलाउने तथा राजनीतिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिने छुट नहुने समेत बताए ।

कार्यक्रममा मधेसका मुख्यमन्त्री कृष्ण यादवले प्रहरी समायोजन छिट्टै हुनुपर्ने बताए । उनले संविधानको मर्म अनुसार प्रहरी समायोजन नहुँदा प्रदेशमा हुने घटनाहरूको जिम्मेवारी प्रदेशले लिने वा सङ्घले लिने भन्ने विषयमा संशयको स्थिति रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री यादवले भने ‘सङ्घीयता बोझिलो भयो, यसले के नै गर्‍यो जस्तो भाष्य निर्माण भइरहेको छ, एक हिसाबले यो सही पनि हो’ अगाडि भने– ‘प्रहरी समायोजन नभएकाले र संविधान अनुरूप अधिकारहरू प्रदेशमा हस्तान्तरण नभएकाले यस्तो स्थितिको सिर्जना भएको छ ।’

मुख्यमन्त्री यादवले अहिलेको परिस्थितिमा भयरहित वातावरणमा निर्वाचन हुनेमा संशय रहेको समेत बताए । उनले प्रहरीबाट लुटिएका हतियार र जेल तोडेर भागेका अपराधीहरू बाहिर रहेको स्थितिमा भयरहित वातावरणमा निर्वाचन हुनेमा शङ्का रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट