रौतहट : रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा बौधीमाई नगरपालिका–२, इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्रराज कंडेलका अनुसार दुर्घटनामा संलग्न इभी भ्यान र त्यसका चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij