हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा आज हेटौंडामा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले लागूऔषध नियन्त्रणका लागि अब स्थानीय सरकारले समेत बजेट र कार्यक्रममार्फत लगानी गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। लागूऔषध समस्या नियन्त्रण थुनेर मात्र सम्भव नहुने बताउँदै उनले सबै क्षेत्रको सहकार्य र व्यापक सचेतनाबाट मात्र यसको न्यूनीकरण सम्भव हुने धारणा राखिन्। लागूऔषधका कारण हेटौंडामा सामाजिक चुनौती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रण आजको अत्यावश्यक आवश्यकता भएको बताइन्।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागूऔषधका कारण हेटौंडाको अवस्था भयावह बन्दै गएको उल्लेख गरे। लागूऔषध नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकार दुवै सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले लागूऔषधसँग सम्बन्धित अन्य आपराधिक घटनाहरू समेत तीव्र रूपमा बढ्दै गएको बताए। हेटौंडा लागूऔषध ओसारपसारको ट्रान्जिट बिन्दु बन्दै गएकोतर्फ समेत उनले ध्यानाकर्षण गराए।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले लागूऔषधसहित पक्राउ गर्ने कार्य निरन्तर भइरहेको जानकारी गराउँदै अबका दिनमा यसको न्यूनीकरणका लागि सबै पक्ष मिलेर काम गरे मात्र सफलता हासिल गर्न सकिने बताए। मकवानपुर जिल्लामा लागूऔषध नियन्त्रणका कार्यमा प्रदेश प्रहरी कार्यालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले लागूऔषध नियन्त्रणका लागि स्थानीय सरकारले टोल–टोलमा संयन्त्र निर्माण गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। सडक निर्माणलाई मात्र विकास नठान्न आग्रह गर्दै उनले लागूऔषधका कारण समाज भयावह बन्दै गएको भन्दै यसको नियन्त्रणमा स्थानीय सरकारले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले लागूऔषधका कारण जिल्लामा भइरहेका अपराधसम्बन्धी तथ्याङ्क प्रस्तुत गरेका थिए।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपाने, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राधासागर गुरागाईंलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडाका वडा अध्यक्षहरू, वडा सदस्यहरू, विद्यालयका शिक्षकहरू, यातायात व्यवसायी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij