चितवन : उद्योगी व्यवसायीहरूमाझ स्वच्छ छवि र मिलनसार स्वभावका युवा व्यवसायी जनक पौडेल चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका लागि उम्मेदवार भएका छन्। आगामी पुस १९ र २१ गते हुने संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा उनी सिरीष पन्त समूहबाट उद्योगतर्फको उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दै छन्।
दशकौं वर्षदेखि होटल व्यवसायमा आबद्ध पौडेलले व्यवसायीका पिर मर्का र समस्या बुझ्ने अनुभव राखेका छन्। उनी भन्छन्, “स्वदेशमै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सन्देश दिन यो मैदानमा आएको छु। व्यवसायीलाई भयरहित वातावरणमा काम गर्ने अधिकार हुनु पर्छ र त्यसको वातावरण सरकारले बनाउनुपर्छ।”
पौडेलले वैष्णव मिष्ठान्न भण्डार सञ्चालन गर्दै आएका छन् र विदेशमा राम्रो कमाई गर्ने अवसर छाडेर स्वदेशमै व्यवसाय गर्ने निर्णय गरेका छन्। उनका व्यवसायले छुट्टै ब्राण्ड र पहिचान बनाउन सफल भएको छ। उद्योगी व्यवसायी माझ उनी चिरपरिचित र विश्वासिलो नाम मानिन्छन्।
उनी आफ्नो उम्मेदवारीका मुख्य उद्देश्यमा तीन तहका सरकार र अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै उद्योगी व्यवसायीको हकहितमा काम गर्नु रहेको बताएका छन्। उनको समूहले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन, होटल तथा रेष्टुरेन्टको २४ सै घण्टा सञ्चालन, संघको आर्थिक कारोबारमा पारदर्शिता र सुशासन जस्ता विषयलाई उच्च प्राथमिकतामा राखेको छ।
पौडेललाई विश्वास छ कि व्यवसायी साथीहरूको समर्थनले उनलाई विजयी बनाउन सहयोग पुर्याउनेछ। उनी भन्छन्, “व्यवसायीको समस्यामा सँधै अग्रपंक्तिमा उभिने छु र अन्य व्यवसायीलाई पनि आफैं जस्तै प्रेरणा दिने प्रयास गर्नेछु।”
स्वदेशमै उद्यमशीलता र कर्मठतालाई प्राथमिकता दिने पौडेलको यो यात्रा, उद्योगी व्यवसायीहरूलाई सशक्त र आवाजयुक्त बनाउने एउटा उदाहरणीय कथा बन्ने देखिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij