Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

मनहरी खोलामा ५२ हजार माछाको भुरा छाडियो

मनहरी खोलामा ५२ हजार माछाको भुरा छाडियो

हेटौँडा : प्राकृतिक जलाशयमा जलीय विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्ने उद्देश्यले पश्चिम मकवानपुरको मनहरी खोलामा विभिन्न जातका ५२ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्र हेटौँडाले मनहरी खोलामा रहु, नैनी र भकुर जातका माछाका भुरा छाडेको हो ।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ७ नम्बर वडाध्यक्ष ठाकुर तितुङ, केन्द्रका वरिष्ठ मत्स्य विकास अधिकृत बलराम आचार्यलगायतको सहभागितामा मनहरी पुल नजिकैको खोलामा माछामा भुरा छाडिएको थियो ।

माछाको भुरा छाड्ने कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकामा पनि माछा मारेर जिविका चलाउने समुदाय रहेको भन्दै खोलामा माछा उत्पादन बढ्दा उक्त समुदायलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । खोलानालामा विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी माछा मार्ने र विभिन्न केमिकलयुक्त फोहोरले गर्दा खोलानालामा माछाको सङ्ख्या घट्न पुगेको बताउँदै सबै मिलेर यस्तो कार्य रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

केन्द्रका मत्स्य विकास अधिकृत आचार्यले खोलामा माछाको भुरा छाड्दा माछा मारेर जिविकोपार्जन गर्ने समुदायलाई फाइदा पुग्नुका साथै माछा खाएर बाँच्ने जीवहरुलाई सहजता भई जैविक विविधता कायम रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, यसअघि पनि हेटौँडाको कर्रा खोलामा स्थानीय ‘गर्दी’ जातको ४४ हजार माछाको भुरा छाडिएको थियो । मानव तथा जलचरमा बस्ने प्राणी र चराचुरुङ्गीको आहाराको रूपमा माछा प्रयोग हुने भएकाले खोलामा माछाको भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवम् संरक्षण केन्द्र, हेटौँडाले जनाएको छ ।  

पछिल्लो समय हराउँदै गएको प्राकृतिक जलाशय र लोप हुँदै गएका जलीय प्राणीको संरक्षण गर्न त्यसको महत्वबारे सरकारी विद्यालयका विद्यार्थीलाई जानकारी दिनुका साथै खोलामा माछाको भुरा छाडिदै आएको छ । नेपालमा २५२ प्रजातिका माछा पाइने गरेको छ जसमध्ये १६ प्रजातिका माछाहरू नेपालमा मात्रै पाइने रैथाने माछा रहेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट