Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीमा तनाव, राजमार्ग अवरुद्ध

विराटनगर : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन्।

घटना बिहीबार राति करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर फर्कँदै गर्दा घर नजिकै गोली लागेको बताइएको छ। उनलाई दुई राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही खण्डमा शव राखेर प्रदर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। मोटरसाइकल बाहेक अन्य सवारी साधन चल्न सकेका छैनन्।

घटनापछि बिहीबार बिहान स्थानीय र प्रहरीबीच वार्ता भए पनि सहमति जुट्न सकेन। दोषीमाथि तत्काल कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट