Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

चितवन र नवलपुरका विज्ञान शिक्षकहरुलाई अङ्कुरम् एकेडेमीको प्रशिक्षण

चितवन र नवलपुरका विज्ञान शिक्षकहरुलाई अङ्कुरम् एकेडेमीको प्रशिक्षण

सौराहा : भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजना र विभिन्न संघसंस्था एवं सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहकार्यमा रत्ननगरको सौराहास्थित होटल जङ्गल क्राउनमा विज्ञान शिक्षकहरुका लागि आवासीय सुविधासहित एकदिने प्रशिक्षण कार्यक्रम सुरू भएको छ । कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपालको माटो सुहाउँदो शिक्षा प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘युवाहरु विदेसिने समस्या भयावहरुपमा देखा परेको छ, ‘१२ कक्षा उत्तीर्ण गरेपछि विदेश जाने प्रचलनलाई निरूत्साहित गर्न व्यावसायिक शिक्षामा जोड दिनुपर्छ’, ‘कोरिया जाने सोच बनाएको युवा विद्यार्थीलाई नेपालमै फरुवा (कोदालो) चलाउन उत्प्रेरित गर्ने जिम्मेवारी पनि हाम्रै हो,’ उनले भने ।

उनले रत्ननगर नगरपालिका यस्ता फलदायी कार्यक्रमको आयोजनाका लागि सहकार्य गर्न सदैव तत्पर रहेको बताए । चितवन र नवलपुरका सामुदायिक तथा संस्थागत विद्यालयका माध्यमिक तहका विज्ञान शिक्षकहरुको लागि आयोजना गरिएको उक्त प्रशिक्षणमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा दिनेशराज भुजूले प्रशिक्षण दिँदैछन् । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विज्ञान सङ्कायका प्रमुख निर्देशक डा आरएन धितालले कार्यक्रमलाई चारवटा सत्रमा विभाजन गरिएको छ र त्यसबाहेक ‘टिम बिल्डिङ सेसन’ र ‘नेटवर्किङ एण्ड सोसलाइजेसन’ गरी जम्मा छ सत्रमा कार्यक्रम सम्पन्न गरिने जानकारी दिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य सुमन पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन तह प्रमुख अर्जुन जी शर्माले गरेका छन् । कार्यक्रममा चितवन र नवलपुरका ६६ जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको छ । ‘क’ वर्गको विद्यालय भएकोले अभिभावकीय जिम्मेवारी बोध गरी गत जेठ महिनामा भरतपुर महानगरका २९ वटै वडाका सङ्गीत शिक्षकहरुलाई पाँच दिने प्रशिक्षण प्रदान गरिएको र आगामी दिनमा चितवनका सातै पालिकासहित नवलपुर र तनहुँका केही पालिकासमेत समेटेर कार्यक्रम सञ्चालन गरिने विद्यालयले जानकारी दिएको छ । ‘आगामी शैक्षिक सत्रबाट कक्षा ९ र १० को पाठ्यक्रम परिवर्तन हुन लागेकोले कम्प्युटर विषयका शिक्षकहरुको लागि यस्तै उपलब्धिमूलक कार्यक्रम गर्ने सोच बनाएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij