Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

बाँके : भेरी अस्पताल, नेपालगञ्जमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु भएको छ ।विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै दुई बर्षदेखि बन्द रहेको सो सेवा पुनः सञ्चालनमा ल्याइएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा नवीन दर्नालले जानकारी दिए ।उक्त सेवाको सुरुआतसँगै यस क्षेत्रका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने उनले बताए ।भेरी अस्पतालको ६ नं ओपिडी (बहिरङ्ग सेवा) बाट प्रत्येक साताको मङ्गलबार र बिहीबार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने छ । ‘यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने छ’, डा दर्नालले भने ।

सेवाका लागि भेरी अस्पतालमा न्यूरो सर्जन डा आलोकचन्द्र ठाकुर तथा प्लास्टिक सर्जन डा नोबेल पोखरेलको विशेषज्ञ सेवा उपलब्ध हुनेछ अस्पतालले दुवै विशेषज्ञ चिकित्सकलाई स्वागत गर्दै उनीहरूको विशेषज्ञता, ज्ञान, सीप र अनुभवबाट यस क्षेत्रका नागरिकले गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।भेरी अस्पतालमा यसअघि नै सिटी स्क्यान तथा एमआरआई सेवा निरन्तर सञ्चालनमा रहेकाले जटिल रोगको पहिचान तथा उपचार प्रक्रियामा सहयोग पुग्दै आएको थियो ।

न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा थपिएसँगै आधुनिक निदानात्मक उपचार र विशेषज्ञ चिकित्सकीय सेवालाई एकीकृत गरी बिरामीलाई थप सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।सो सेवाको अस्पताल विकास समिति सदस्य डा डक्टप्रसाद धिताल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मादेवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा विश्वनाथ शर्मालगायतले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट