काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास नचल्ने बताएका छन्।
मंगलवार तनहुँको आँबुखैरेनीमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहमा प्रतिनिधिसभाको जस्तो हुरी बतास आउन सम्भव नरहेको तर्क गरे। उनले नयाँ राजनीतिक दलले गरेका काम आम नागरिकले विस्तारै बुझ्दै गएको बताए।
स्थानीय तहको निर्वाचनमा पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने बताए। स्थानीय तहमा राम्रो परिणाम ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने तर्क गरे।
प्रचण्डले भने, ‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन। स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन। कस्सिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन।’
संयोजक प्रचण्डले आम कार्यकर्ताले जति धेरै सक्रियता देखाउँछन् त्यति नै बढी सिट स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गरे।