पोखरा : नेपाली कांग्रेसका नेता तथा नियमित महाधिवेशन पक्षधर समूहका सभापति शेरबहादुर देउवाले काल नआएका कारण आफू बाँचेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा निर्घात कुटिएर पनि काल नआएका कारण आफू बाँचेको उनले सुनाए । पोखरामा आफू पक्षीय कांग्रेसको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले जेनजीहरुकै कारण आफू बाँचेको बताए ।
‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरुले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर, जेनजीको नाममा ५० वर्ष माथिकाले लाठो ल्याएर पिटेका हुन् । ढुङ्गा हाने । त्यसमा धेरै ठुलो षड्यन्त्र थियो ।’ सेना आउने बाटो समेत छेकेर आफू र श्रीमती आरजु राणामाथि कुटपिट भएको उनले बताए ।
‘नबोली नहुने भएकोले बोलिरहेको छु । आरजु र मलाई मारिसकेका थिए, हामी बाँचेका हौँ । अहिलेसम्म घाउ परेको छ,’ अघि भने, ‘सेनाले हेलिकोप्टर समेत पठाएको हो, बचाउन । हेलिकप्टर ल्यान्ड गर्न दिएन । मेरो घर जाने बाटोमा सारा मान्छे बसिदिएर हो । पछि आर्मीले गाडी पठाएर क्याम्पमा गएर बस्यौँ ।’ पदमा बसेका मान्छे मात्र नभएर कांग्रेसका स्वर्गीय भैसकेका नेताहरूका घरमा समेत आक्रमण गरिएकोमा उनको दुखेसो थियो ।
‘ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरो श्रीमती मन्त्री थिइन् हान्यो ठिकै छ । गृहमन्त्री थिए, रमेश लेखक उनलाई हाने,’ देउवा भन्छन्, ‘कृष्णप्रसाद भट्टराईको आश्रममा किन हानेको ? वीपीको बाबुको घरमा हाने, विराटनगरमा । गणेशमान सिंहको घर हाने । देशभरि हाम्रो पार्टीको कार्यालयमा हान्यो । यो कांग्रेसको खिलापको षड्यन्त्र हो भन्ने बुझ्नुपर्छ ।’ आफूमाथि आक्रमण गर्नुपर्छ भन्नेहरूलाई नै गगन थापाले टिकट वितरण गरेको गम्भीर आरोप उनले लगाएका छन् । ‘शेरबहादुर देउवाको घरमा आक्रमण गर्नुपर्छ भन्नेलाई टिकट दियो । मलाई मार्नुपर्छ भन्नेलाई पनि टिकट दियो ४ नम्बरमा,’ अघि भने– ‘स्पष्ट भइसक्यो यो चाहिँ देशभर हाम्रो नेताजीहरूको घरमा आगो लगाउने र हामीलाई मार्न खोज्ने को को छ स्पष्ट भैसकेको छ ।’ विशेष अधिवेशन चाहिँ वैधानिकताको जाँच गर्नुपर्नेमा उनको तर्क छ । ‘विशेष अधिवेशन गर्न पाइन्छ । सुवर्ण शमशेरले विशेष अधिवेशन गर्नुभएको हो । यसमा ४० प्रतिशतले सहीछाप गर्नुपर्छ,’ देउवा भन्छन्, ‘त्यो कुरा सभापतिलाई लेखेर दिनुपर्छ, थाहै छैन । कसैले माग पनि गरेको छैन । विशेष भनेपछि विशेष नै हुनुपर्छ नि । सनाखत कसले गरेको छ ? हस्ताक्षर ठिक हो कि होइन ?’
विशेष महाधिवेशन पार्टी कब्जा गर्ने षड्यन्त्र भएको आरोप उनले लगाए । त्यसको खिलाफमा जानुपर्ने आफ्नो कर्तव्य भएको देउवाको भनाइ छ । आफूले पार्टी र देशबाट पर्याप्त पाइसकेकोले अब देशका लागि कर्तव्य पूरा गर्ने उनी बताउँछन् । ‘मैले पाउनुपर्ने पाइसकेँ । मलाई केही चाहिएको छैन । ५ पटक प्रधानमन्त्री भइसकेँ अब देशलाई दिनु बाहेक केही छैन । यो राष्ट्रलाई दिनुछ,’ भने, ‘यो लोकतन्त्रलाई अझ मजबुत गर्नुछ, गणतन्त्रलाई मजबुत गर्नुछ । त्यस कारण मेरो कर्तव्य एउटै छ, पार्टीले ५ पटक प्रधानमन्त्री बनाएको छ ।’ अबको समय देशको लोकतन्त्रका लागि आफूलाई समर्पित गर्ने देउवाले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij