इच्छाकामना : इच्छाकामना साहित्य प्रवाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाएको छ।
इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेलको सभापतित्व तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कुरिनटारमा आयोजित कार्यक्रममा साहित्यकारलाई सम्मान गर्नुका साथै कविता सङ्ग्रह विमोचन गरिएको हो।
सो अवसरमा वरिष्ठ साहित्यकार केशवराज आमोदी नगदसहित पुरस्कृत हुनुभएको थियो। उहाँलाई शिव–सरस्वती स्मृति अक्षयकोष पुरस्कार तथा इच्छाकामना साहित्य प्रवाह सम्मान–२०८३ बाट सम्मानित गरिएको हो। पूर्वशिक्षक कृष्णप्रसाद सिलवालले आफ्ना स्वर्गीय बुबा शिवप्रसाद सिलवाल र स्वर्गीय बहिनी सरस्वती सिलवालको स्मृतिमा इच्छाकामना साहित्य प्रवाहको अक्षयकोषमा एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको थियो । सोही रकमबाट उहाँलाई पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले पुरस्कार स्थापना गर्नुभएका पूर्वशिक्षक कृष्णप्रसाद सिलवाल तथा उहाँकी धर्मपत्नी चेली कुमारी सिलवालको उपस्थितिमा सम्मानपत्र र दोसल्ला ओढाएर साहित्यकार आमोदीलाई सम्मान गर्नुभएको थियो।
यसै अवसरमा इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेलको कविता सङ्ग्रह ‘आमाको बक्सा’ विमोचन गरिएको थियो। प्रमुख अतिथि सिलवालले उक्त कृतिको विमोचन गर्नुभएको हो।
कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य सिलवालले साहित्य समाजको यथार्थ चित्रण गर्ने सशक्त माध्यम हुनुपर्नेमा जोड दिनुभयो। साहित्यकारहरूले आफ्ना सिर्जनामार्फत समाजका वास्तविक अवस्था, भोगाइ, समस्या र सम्भावनालाई जीवन्त रूपमा उजागर गरिरहेको उल्लेख गर्दै उहाँले साहित्यले समाजको वास्तविक ऐना बन्नुपर्ने बताउनुभयो। साथै, साहित्यिक सिर्जनामार्फत समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन साहित्यकारहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले साहित्यकारहरूको थप प्रगति र सफलताको कामना गर्नुभयो।
कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका सल्लाहकार तथा साहित्यकार तेजविलास अधिकारीले ‘आमाको बक्सा’ कविता सङ्ग्रहबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा ईश्वर पौडेल, सोनिमा पोखरेल, राजेन्द्र घायल, रामजी त्रिपाठी,प.इश्वरी प्रासद अधिकारी लगायतले कविता वाचन गर्नुभएको थियो।
त्यसैगरी, रामनाथ त्रिपाठीले अक्षयकोष स्थापना गर्नुभएका कृष्णप्रसाद सिलवाल प्रवाहका सल्लाहकार सुजन सापकोटाले सम्मानित वरिष्ठ साहित्यकार केशवराज आमोदीका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका निवर्तमान अध्यक्ष एकराज शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठ, वरिष्ठ साहित्यकार केशवराज आमोदी लगायतले मन्तव्य राख्नुभएको थियो। इच्छाकामना साहित्य प्रवाहका उपाध्यक्ष रामनाथ त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव शङ्कर सिलवालले गर्नुभएको थियो।
तस्बिरमा कुनै परिवर्तन नगरि उज्यालो मात्र बनाउने
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij