काठमाडौं : ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माण कार्य अघि बढाएको छ । बैंकको नयाँ प्रशासनिक भवन निर्माणका लागि बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज विधिवत् रूपमा भूमिपूजा गरेका हुन् ।
बैंकका अध्यक्ष ढकालका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त नयाँ कर्पोरेट भवन १२ तले हुनेछ । यो संरचना प्रशासनिक कामकाजका लागि मात्र नभई संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको समृद्ध दृष्टिलाई पनि प्रतिबिम्बित गर्ने अध्यक्ष ढकालको भनाई छ ।
भवन निर्माण गर्दा नवीनतम इन्जिनियरिङ प्रविधि र वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिइएको बताइएको छ । जमिनको स्थिरता र आसपासका संरचनाहरूको सुरक्षालाई ध्यानमा राखी जग निर्माणमा ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने भएको छ ।
यसैगरी, भवनलाई पूर्ण रूपमा ऊर्जा–दक्ष र पर्यावरणमैत्री बनाउन वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) तथा सौर्य ऊर्जा (सोलार प्रणाली) जडान गरिनेछ । सेवाग्राही र कर्मचारीहरूको सुविधाका लागि भवनमा दुई तह (डबल बेसमेन्ट) को फराकिलो भूमिगत पार्किङको व्यवस्था समेत रहने भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij