काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शक्ति प्रदर्शन गर्न खोजेपछि पदबाट अलग गराइएको बताएका छन्।आज काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको प्रहरी सङ्गठनको प्रमुखले नै सरकारविरुद्ध शक्ति प्रदर्शन गर्न खोज्नु उचित नभएको बताए। राज्यको एउटा अङ्गले शक्ति प्रदर्शन गरेर राज्य सञ्चालन हुन नसक्ने उनको भनाइ छ।
उनले भने, ‘उहाँमाथि प्रश्न उठेपछि त्यसलाई विषयान्तर गर्न प्रहरी सङ्गठनलाई प्रयोग गर्न खोज्नुभयो। उहाँले शक्ति प्रदर्शन गर्न लाग्नुभयो। त्यो शक्ति प्रदर्शनले राज्य चल्दैन थियो। त्यसकारण उहाँलाई बहिर्गमन गराइएको हो।’कानूनी जटिलताका कारणले पदबाट हटाउनुको सट्टा नयाँ पद सिर्जना गरी प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरिएको जिकिर गरे।
उनले थपे, ‘कार्यावधि बाँकी रहँदासम्म आईजीपीलाई पदबाट हटाउन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। उक्त प्रक्रिया लामो हुने भएकाले सरकारको मातहतका कर्मचारीलाई अन्य जिम्मेवारीमा खटाउन पाउने अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकार बनाइएको हो।’कार्कीलाई प्रधानमन्त्रीको सल्लाहकारमा ल्याउनुको उद्देश्य सरकारलाई थप विश्वस्त पात्रका रूपमा राख्नु रहेको पनि बताए। सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेकाले अदालतमा विचाराधीन विषयमा अहिले नै कुनै टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij