Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

आईजीपी दानबहादुर कार्कीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति

आईजीपी दानबहादुर कार्कीको राजीनामाबारेका समाचारप्रति प्रहरीको आपत्ति

काठमाडौँ : नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै अपुष्ट र भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचार र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुनुका साथै सुरक्षा जोखिम बढ्न सक्ने प्रहरीको भनाइ छ। यस्ता सूचनाले नागरिकको सेवामा समर्पित प्रहरी सङ्गठनप्रतिको विश्वास, साङ्गठनिक छवि र निष्ठामा समेत असर पार्न सक्ने विज्ञप्तिमा उल्लेख छ।


प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता नारायण काफ्लेले विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।


प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ। नागरिकको सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्ने अधिकारको सम्मान गर्दै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ।

सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न प्रहरी सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने प्रहरीको भनाइ छ।

यस्ता समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरीका सबै दर्जाका कर्मचारीलाई निर्देशनसमेत दिइएको छ। साथै, आम नागरिकलाई आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न प्रहरीले आग्रह गरेको छ।

सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारीमा प्रहरी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरी सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्ने सीमित व्यक्तिहरूको गतिविधिमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij