भरतपुर : चितवन प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा एक जना तनहुँ र दुई जना चितवनका रहेका छन्।
प्रहरीका अनुसार बुधबार साँझ ७ बजे भरतपुर महानगरपालिका–१९ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ४६.५५ ग्राम, नगद ३२ हजार ५०० रुपैयाँ तथा डिजिटल तराजु थान एकलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका–८ स्थायी घर भई भरतपुर महानगरपालिका–१९ बस्ने २१ वर्षीय सागर तामाङ, भरतपुर महानगरपालिका–२० बस्ने २८ वर्षीय रोशन गुरुङ र भरतपुर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय अमित लामाको रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij