काठमाडौं : काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९२ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ८४ जना पुरुष र आठ जना महिला रहेका छन्।प्रहरीले सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरेको जनाएको छ। नागरिकको आवतजावत बढी हुने स्थानमा निगरानी तथा जाँचलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न र सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्न स्वीप अपरेसन सञ्चालन गरिएको हो।अभियानका क्रममा सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाको गतिविधि सञ्चालन गर्ने र गुण्डागर्दी गर्ने व्यक्तिलाई लक्षित गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिए पनि फरार रहेका १३ जना कसुरदारसमेत पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका तथा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका व्यक्तिको खोजीलाई पनि अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सार्वजनिक यातायात, बसपार्क, बजार क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपासमा चोरी, लुटपाट, दुर्व्यवहार र बिचौलियाका गतिविधि हुन सक्ने भएकाले त्यस्ता स्थानमा प्रहरी परिचालन र निगरानी बढाइएको हो।
पक्राउ परेका व्यक्तिहरूको आपराधिक गतिविधिमा संलग्नता, उनीहरूमाथि लागेका आरोप तथा अन्य कानुनी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीले सार्वजनिकस्थलमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, फरार कसुरदारको खोजी र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले विशेष सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij