Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

सहकारीले गाउँमै दूध सङ्कलन गरेपछि किसानलाई सहज

सहकारीले गाउँमै दूध सङ्कलन गरेपछि किसानलाई सहज

दाङ : घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्छन् । उनलाई पछिल्लो समय दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन ।यहीँ कात्तिक १ गतेबाट घोराही उपमहानगरपालिका–२ रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध किनेर बिक्रीको प्रबन्ध मिलाएको छ । जसले गर्दा संस्थाका सदस्य तथा वडा नं १, २ र ४ का पशुपालक किसानलाई सहज भएको उनी बताउँछन् ।थापालाई मात्र होइन उनीजस्तै धेरै किसानलाई दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता हटेको छ । “आफू नै आवद्ध भएको सहकारी संस्थामा दिन्छौँ”, थापाले भने, “सहकारीमार्फत दूध बेच्न निकै सजिलो भएको छ ।” मासिक करिब रु दुई लाखको दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा उनी खुसी छन् । मासिक रूपमा एक लाख ८० हजारदेखि दुई लाखसम्मको कारोबार गर्दै आएको र त्यसबाट आधा रकम बचत गर्ने गरेको उनले बताए ।

विसं २०७७ बाट सुकाली गाई फार्म सञ्चालन गरेर गाईपालन गर्दै आएका थापाको फार्ममा अहिले सानाठूला गरेर २१ वटा गाई छन् । उमेरले ४२ वर्ष पुगेका उनले दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता अन्त्य हुँदा पैसा र समयको बचत भएकाले यो कार्यलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।पछिल्लो समय गाउँमै सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारका डेरीहरूले दूध नपाइने चिन्ताले पशु सुत्केरी भत्ताबापत रु दुई हजार ५०० दिने कार्य यहीँ कात्तिक १ गतेबाट सुरु गरेको हुँदा यसले अन्य किसानलाई फाइदा पुगेको उनले बताए ।

हाल सहकारीले किसानबाट दैनिक ७५० लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको संस्थाका अध्यक्ष गुरुप्रसाद खनालले बताए । संस्थाका सदस्यलाई अनिवार्य र अन्य किसानले चाहेमा दूध लिने गरिएको उनको भनाइ छ । अध्यक्ष खनाल स्वयंले पनि पशुपालन गर्दै आएका छन् । उनले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको बताए । उनको फार्ममा अहिले सानाठूला गरेर २० वटा गाई छन् ।“किसानबाट भैँसीको ८० रुपैयाँ र गाईको दूध ७० रुपैयाँ लिटर खरिद गर्दै आएका छौँ”, अध्यक्ष खनालले भने, “आफूहरूले होलसेलमा भैँसीको ८५ रुपैयाँ र गाईको दूध भने ७५ रुपैयाँ लिटर बिक्री गर्ने गरेका छौँ ।” यसअघि किसानले भैँसीको ७५ र गाईको ६३ रुपैयाँ लिटरमा बिक्री गर्दै आएका थिए । किसानबाट खरिद गरिएको दूध सहकारीमा आबद्ध सदस्यले सञ्चालन गरेको डेरीमै दिने र बाँकी अन्य डेरीलाई पनि दिने गरिएको उनको भनाइ छ ।

चैतदेखि तिहारसम्म डेरीहरूले जति पनि दूध सङ्कलन गरिदिने र त्यसपछि दूध बिक्री गर्न समस्या हुने भएकाले सहकारीमार्फत यो कार्यक्रमको थालनी गरिएको उनले बताए । भोलिका दिनमा सहकारीकै डेरी सञ्चालन गरी बिक्री गर्ने योजनासमेत रहेको उनको भनाइ छ ।अझै पनि किसानले पर्याप्त मूल्य नपाएको हुँदा भविष्यमा किसानलाई फाइदा हुने हिसाबले काम गर्ने उनले बताए । दूध एनालाइजर मेसिन लिएर त्यसअनुसार किसानलाई मूल्य दिने योजना रहेको उनले सुनाए ।हाल यस सहकारी संस्थामा एक हजार ३०० सदस्य रहेका छन् । जसमा ४०० सदस्यले सहकारीबाट दूध बिक्री गर्ने गरेका छन् । घरैपिच्छेका किसान दूध बेच्न घोराही बजार आउँदा समस्या भएपछि सहकारीले दूध सङ्कलन गरेर बिक्री गर्दा सहज भएको किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट