बाँके : आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाँदा बाँकेका ग्रामीण क्षेत्रमा खेतीपाती गर्न सहज भएको छ। परम्परागत कृषि प्रणालीमा जनशक्तिको अभाव र बढ्दो मजदुरीको समस्या झेल्दै आएका किसान पछिल्लो समय थ्रेसर, रिपर, ट्र्याक्टर र मिनी टिलरजस्ता आधुनिक उपकरणको प्रयोगतर्फ आकर्षित भएका छन्। यस्ता उपकरणले किसानको समय र श्रम बचत गर्नुका साथै उत्पादन लागत घटाउन सहयोग पुर्याएका छन्।
विशेषगरी धान र गहुँ भित्र्याउने समयमा खेताला पाउन कठिन हुने समस्या आधुनिक कृषि यन्त्रको प्रयोगले कम हुँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१९ का किसान मोहम्मद इस्लाम खाँका अनुसार थ्रेसर मेसिनको प्रयोगले पाकेको धान छिटो झार्न सकिने भएकाले बाली भित्र्याउन सहज भएको छ। वैदेशिक रोजगारी तथा अन्य कारणले गाउँमा कृषि मजदुरको अभाव बढिरहेका बेला यस्ता उपकरण किसानका लागि उपयोगी बनेका छन्।
नेपालगञ्ज–१९ का अमजत अली शेखले सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गर्दै आएका छन्। उनका अनुसार थ्रेसरले एक घण्टामा करिब १० कट्ठासम्मको धान झार्न सकिन्छ। उनले तीन लाख ५० हजार रुपैयाँमा खरिद गरेको मेसिनबाट धान भित्र्याउने सिजनमा खर्च कटाएर करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। यसले कृषि यन्त्रको प्रयोग किसानका लागि सहज हुनुका साथै युवाका लागि स्वरोजगारको माध्यमसमेत बनेको देखाउँछ।
किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीका अनुसार धान काट्ने रिपर मेसिनले प्रतिघण्टा करिब १० देखि १५ कट्ठासम्म धान काट्न सक्छ। त्यस्तै, मिनी टिलरको प्रयोगबाट खेत जोत्न कम जनशक्ति र समय लाग्ने गरेको छ। घाँस काट्ने मेसिन तथा पशुपालनमा प्रयोग हुने उपकरणको उपयोग पनि बढ्दै गएको छ।कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माका अनुसार आधुनिक उपकरणको प्रयोगले कृषि कार्य सहज बनाउनुका साथै बालीको नोक्सानी घटाउन र उत्पादन बढाउन सहयोग गरेको छ।
कृषि क्षेत्रमा यान्त्रिकीकरणलाई थप प्रभावकारी बनाउन वास्तविक किसानसम्म अनुदान, प्राविधिक सीप, मेसिन मर्मतसम्भार र सहज वित्तीय पहुँच पुर्याउनुपर्ने सरोकारवालाको सुझाव छ। आधुनिक प्रविधिको विस्तारले ग्रामीण कृषिलाई व्यावसायिक, उत्पादनमुखी र आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij