Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसी पूजा सुरु

आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसी पूजा सुरु

काठमाडौंः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ। आकाशदीपदान सकेसम्म बाँस, बाँस नपाएमा पलाँस, खएर, पीपलको लिङ्गो ठड्याएर बालिन्छ। आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गर्ने गरिन्छ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने गएराति सम्पन्न भएको छ। मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कात्तिक स्नान सुरु, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट