काठमाडौं : कुनै समय धुवाँ, धुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यस वर्ष दसैँमा तुलनात्मक रूपमा सुनसान देखिएको छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारी चाप घटेको हो ।
देशका करिब ६८ जिल्लाबाट काठमाडौं प्रवेश गर्ने प्रमुख मार्गका रूपमा रहेको नागढुंगा क्षेत्रमा विगतमा चाडपर्वका बेला घण्टौँसम्म सवारी जाम हुने गर्थ्यो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा उकालो, घुम्ती सडक तथा चेकपोस्ट आसपासको क्षेत्रमा सवारी चाप र कोलाहल कम भएको छ ।
दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा राजधानीबाट बाहिरिने र राजधानी भित्रिने यात्रुहरूले विगतमा घण्टौँसम्म सवारीसाधनमै रोकिनुपर्ने बाध्यता भोग्दै आएका थिए । ठूला सवारीसाधनबाट निस्कने धुवाँ, सडकको धुलो र लामो जामका कारण यात्रुहरूलाई सास्ती हुने गरेको थियो । बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीले अझ बढी समस्या भोग्नुपर्थ्यो ।
सुरुङमार्गबाट सवारीसाधन सहज रूपमा आवतजावत गर्न थालेपछि यात्रुहरूले राहत महसुस गरेका छन् । विगतमा जामका कारण रोक्नुपर्ने नागढुंगा–नौबिसे सडकखण्डको पिपलमोड क्षेत्रमा अहिले यात्रुहरू दृश्यावलोकन गर्न र तस्बिर खिच्नका लागि सवारी रोक्ने गरेका छन् ।
चितवनकी कृष्टी पौडेलले विगतमा नागढुंगा सडकमा यात्रा गर्न निकै कठिन हुने गरेको अनुभव सुनाइन् । पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर आराम गरिरहेकी उनले यस वर्ष सडक सहज भएको सुनेर स्कुटरमै यात्रा गरेको बताइन् ।
“गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दसैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो । अहिले बाटो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ । यति सजिलै पार गर्न पाइन्छ भन्ने सोचेकी थिइनँ,” उनले भनिन् ।
सुरुङमार्गको प्रवेशद्वारभन्दा माथिल्लो सडकमा दृश्य नियालिरहेका रामजी वस्तीले पनि यस वर्षको यात्रा विगतभन्दा सहज भएको बताए । “दसैँमा घर जाँदा र फर्किंदा युद्ध लडेजस्तो हुन्थ्यो । गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो,” उनले भने ।
सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचिरहेका विष्णु श्रेष्ठले पनि विगतमा जामका कारण बाध्य भएर रोकिनुपर्ने अवस्था अहिले फेरिएको बताए । “पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्थ्यो, अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ,” उनले भने ।
सार्वजनिक सवारीसाधनबाट सुरुङ पार गरेर धादिङको खानीखोला पुगेकी तनहुँकी चेली मगरले पनि यात्रामा आएको परिवर्तन अनुभव गरिन् । उनका अनुसार विगतमा जाम, धुलो र धुवाँका कारण दसैँ–तिहारमा घर आउन–जान निकै सास्ती हुने गरेको थियो ।
“एक त घण्टौँको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो । अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ । पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपनाजस्तै लाग्यो,” उनले भनिन् ।
२.६८ किलोमिटर लम्बाइको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको सुरुङमार्गको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यकालमा सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको थियो ।
सुरुङमार्ग सञ्चालनमा आएसँगै राजधानी प्रवेश गर्ने यात्रुको यात्रा सहज हुनुका साथै नागढुंगा क्षेत्रमा विगतमा देखिने सवारी जाम, धुलो र धुवाँको समस्यामा समेत कमी आएको यात्रुहरूको अनुभव छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij