Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विजया दशमीको अवसरमा रत्ननगर–१ कांग्रेसको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

विजया दशमीको अवसरमा रत्ननगर–१ कांग्रेसको शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

चितवन: नेपाली कांग्रेस रत्ननगर नगरपालिका–१ वडा कार्यसमितिको आयोजनामा विजया दशमी २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

नवनिर्वाचित वडा सभापति विष्णुप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाका ज्येष्ठ क्रियाशील सदस्य कुलप्रसाद आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा निवर्तमान वडा सभापति तथा रत्ननगर नगरपालिका–१ का वडा अध्यक्ष एवं नगर प्रवक्ता कुलप्रसाद सापकोटा र पूर्व वडा सभापति बाबुराम गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी, पार्टीका अग्रज व्यक्तित्व हरिलाल सुवेदी, निवर्तमान वडा अध्यक्ष शंकर सिंह तामाङलगायत स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टी संगठनलाई गतिशील बनाउन तथा संगठन निर्माणमा निरन्तर योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नवनिर्वाचित वडा कार्यसमितिले निवर्तमान वडा सभापति तथा वडा अध्यक्ष एवं नगर प्रवक्ता कुलप्रसाद सापकोटासहित पार्टीमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको हो।

सोही अवसरमा निवर्तमान वडा सचिव सुदिप नहर्कीले नवनिर्वाचित वडा सचिव भोजराज पौडेललाई वडा कार्यसमितिको आधिकारिक माइन्युट हस्तान्तरण गर्नुभयो। माइन्युट हस्तान्तरणले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, संस्थागत हस्तान्तरणको संस्कृति र संगठनको निरन्तरतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम सञ्चालन गर्दै नवनिर्वाचित वडा सचिव भोजराज पौडेलले आगामी दिनमा पार्टीका गतिविधिहरूलाई थप सक्रिय बनाइने जानकारी दिनुभयो। उहाँले पार्टीमा इमानदारीपूर्वक योगदान पुर्‍याउने सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा आगामी दिनमा पनि उचित सम्मान तथा कदर गरिने बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शुभेच्छुक संस्था प्रजातान्त्रिक विचार समाज चितवनका निवर्तमान अध्यक्ष सुरेशचन्द्र आचार्य तथा अन्य अतिथिहरूले नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण, वडा तहमा आपसी भाइचाराको विकास र जनताका समस्या समाधानका लागि जनप्रतिनिधि तथा पार्टी नेतृत्वबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

वडा सभापति विष्णुप्रसाद अधिकारीले अग्रजहरूको मार्गदर्शनलाई आत्मसात् गर्दै निवर्तमान कार्यसमितिले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। उहाँले रत्ननगर–१ मा नेपाली कांग्रेसलाई थप एकताबद्ध, जनमुखी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विजया दशमीको अवसरमा आयोजित कार्यक्रमले वडा तहका नेता, कार्यकर्ता तथा स्थानीयवासीबीच आपसी एकता, भाइचारा र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको पार्टीका सदस्यहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij