चितवन : चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा गुडिरहेको अवस्थामा ईभी कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
भदौ २६ गते बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्रदेश–०१–०३० च ५५७९ नम्बरको आयोन ब्रान्डको ईभी कारमा अचानक आगलागी भएको थियो।
आगलागीमा परी कार चालक भरतपुर महानगरपालिका–१२ का ५६ वर्षीय अमर पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पराजुली आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए।
गुडिरहेको कारमा अचानक आगो लागेपछि पराजुली बाहिर निस्कन नसकेको र कारभित्रै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आगो दन्किरहेको अवस्थामा कार गुडिरहेको देखेपछि स्थानीयले चालकलाई रोक्न आग्रह गरेका थिए। तर, कार एक्कासि सडकको डिभाइडरमा ठोक्किएपछि आगलागी थप देखिएको बताइएको छ।
सुरक्षाकर्मीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए। मृतक पराजुलीको भरतपुर अस्पतालमा पोस्टमार्टम गरिएको छ।
कारमा आगलागी हुनुको वास्तविक कारण भने अझै खुलेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्रभूषण यादवका अनुसार घटनाबारे प्राविधिकहरूसँग समेत समन्वय गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले आगलागी विद्युत् प्रणाली, ब्याट्री वा अन्य प्राविधिक कारणले भएको हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij