Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुत्केरीअघि अस्पताल, सुत्केरीपछि घर : गर्भवतीका लागि पुरानो मेडिकलको निःशुल्क एम्बुलेन्स

सुत्केरीअघि अस्पताल, सुत्केरीपछि घर : गर्भवतीका लागि पुरानो मेडिकलको निःशुल्क एम्बुलेन्स

चितवन : गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबारदेखि सुरु गरिएको सेवाअन्तर्गत चितवन तथा आसपासका गर्भवती महिलालाई सुत्केरी हुनुअघि घरबाट अस्पतालसम्म निःशुल्क ल्याइने र सुत्केरीपछि अस्पतालबाट घरसम्म निःशुल्क पु¥याइने अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार एम्बुलेन्स सेवा निःशुल्क भए पनि ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत सुत्केरीपछि घर फर्कने क्रममा बिरामीले दुई हजार रुपैयाँसमेत पाउनेछन् । पुरानो मेडिकल कलेजमा सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भवती महिलाले चार पटकसम्म स्वास्थ्य सेवा लिएबापत उक्त रकम उपलब्ध गराइने जनाइएको छ ।

समयमै अस्पताल पुग्न नसक्दा गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा यातायातको सहज पहुँच नभएका परिवारका गर्भवती महिलालाई यस सेवाबाट प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध हुने स्वास्थ्य सेवा तथा सुविधाबारे पर्याप्त जानकारी नहुँदा कतिपय गर्भवती महिला आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्थालाई मध्यनजर गर्दै अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । अस्पतालले सेवा र सुविधाबारे जानकारीसँगै गर्भवती महिलालाई समयमै अस्पतालसम्म ल्याउने व्यवस्था मिलाएको जनाएको छ ।

देशभर गर्भवती महिलाले समयमा सुत्केरी सेवा नपाएको तथा अस्पतालसम्म पुग्न यातायातको समस्या भोग्नुपरेको गुनासो भइरहेका बेला पुरानो मेडिकल कलेजले घरमै पुगेर गर्भवती महिलालाई अस्पताल ल्याउने र सुत्केरीपछि घरमै पु¥याउने अभियान सुरु गरेको हो ।

अस्पतालले यस सेवामार्फत समयमै अस्पताल, सुरक्षित मातृत्व र आमा–शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ । सेवा प्रभावकारी बनेसँगै गर्भवती महिलाको सुरक्षित सुत्केरी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

 
 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट