काठमाडौँ : रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका ८ जनाको खोज तथा उद्धारका लागि नेपाली सेनाले सुरुङको मुख नजिकसम्म पहुँच सडक निर्माण गरेको छ ।
स्याफ्रबेँशी हुँदै चिलिमे टनेलसम्म हेभी उपकरण लैजान सेनाले पहुँचमार्ग निर्माण गरेको हो । उक्त सडक सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म पुगेको सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।
सेनाले प्रयोग गर्दै आएको एमआई–१७ हेलिकप्टरबाट ठूला उपकरण सुरुङको मुखसम्म लैजान सम्भव नभएपछि सडकमार्फत उपकरण पुर्याउने तयारी गरिएको हो । पहुँच सडक निर्माणका लागि एउटा एक्स्काभेटर प्रयोग गरिएको छ भने थप दुई एक्स्काभेटरलाई ब्याकअपमा राखिएको सांसद सागर ढकालले जानकारी दिनुभएको छ ।
उद्धारकर्मीहरू यसअघि नै सुरुङभित्र करिब ११५ मिटरसम्म पुगेर डेब्रिज हटाउने काम गरिरहेका छन् । सुरुङभित्र उकालो–ओरालो बेन्ड क्षेत्रमा ठूला ढुंगा रहेका कारण विस्फोट तथा ठूला उपकरणको आवश्यकता परेको बताइएको छ ।
उद्धारकर्मीहरूले ६ मिटरका ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार गरेका छन् । नेपाली सेना र भारतीय टनेल विशेषज्ञको टोलीले संयुक्त रूपमा खोज तथा उद्धार गरिरहेको छ ।
यसैबीच पुल्चोक क्याम्पसबाट लेदो तान्ने मेसिनसमेत चिलिमे लगिएको सांसद ढकालले जानकारी दिनुभएको छ । पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि आयोजनास्थल पुगेर उद्धार कार्यमा सहजीकरण गर्नुभएको छ । सुरुङमा फसेकाहरूलाई जीवितै उद्धार गर्ने प्रयास जारी रहेको जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij