Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की

पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की

हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेको थियो । यसको प्रतिकारमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्यो । 

लाराकमा स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन तयारी गरिरहेका इरानी प्रक्षेपण प्रणालीलाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ । घटनापछि ट्रम्पले इरानलाई कडा जवाफ दिने भनेका छन् । रानमाथि कडा प्रहार गरिने र यसको जवाफ दिइने ट्रम्पले बताएको भन्दै फक्स न्युजले समाचार छापेको छ ।


पछिल्लो आक्रमण–प्रत्याक्रमणले प्रतिबन्ध, नाकाबन्दी र आर्थिक दबाब मार्फत बढ्दो रूपमा लडिएको द्वन्द्व कति छिटो सैन्य कारबाहीमा परिणत हुन सक्छ भन्ने कुरालाई उजागर गरेको छ । यतिबेला दुवै पक्ष पूर्ण–स्तरीय युद्धमा फर्कन खोजेका छैनन । तर आफूमाथि हुने आक्रमणमा जवाफ दिन भने दुवै तयार रहेका छन् । ‘उनीहरूलाई हामी कडा प्रहार गर्नेछौँ,’ फक्स न्यूजका एक रिपोर्टरले ट्रम्पको भनाई उद्धृत गरेका छन् । कुनै आक्रमण भयो भने यसको प्रतिउत्तरमा आक्रमण गरिने पनि उनले बताएका छन् ।


ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँगको भेटमा ट्रम्पले पछिल्लो सैन्य झडपलाई पूर्ण युद्धतर्फ फर्किएको संकेतका रूपमा भने व्याख्या गरेनन् । इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले त्यसलाई अस्वीकार गर्ने कुनै कारण नरहेको बताए। उनका अनुसार इरान सैन्य रूपमा पहिले नै गम्भीर रूपमा कमजोर भइसकेको छ । ‘यसको मतलब यो होइन कि हामी उनीहरूमाथि प्रहार गर्नेछैनौं । के हुन्छ हामी हेर्नेछौँ,’ उनले भने ।

इरानविरुद्ध आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा त्यसलाई अस्वीकार गर्ने कुनै कारण नरहेको पनि ट्रम्पले बताए । उनका अनुसार इरान सैन्य रूपमा पहिले नै गम्भीर रूपमा कमजोर भइसकेको छ । इरानी एक वरिष्ठ अधिकारीले पछिल्लो आक्रमण र प्रत्याक्रमणलाई सीमित र नियन्त्रणमा रहेको सैन्य भिडन्त भनेका छन् । तर अमेरिकाले पुनः आक्रमण गरेमा तेहरानले कडा जवाफ दिने चेतावनी उनले दिए ।

पछिल्लो तनावका क्रममा ट्रम्पले सामाजिक सञ्जालमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा ठुलो विस्फोट भएको देखाउने दुईवटा भिडियो पोस्ट गरेका थिए । उनले खार्ग द्वीप ध्वस्त पारिएको दाबी पनि गरेका थिए । तर ती भिडियो वास्तविक घटनाका नभई एआईबाट तयार पारिएका थिए । खार्ग द्वीपमा त्यस्तो आक्रमण भएको कुनै प्रमाण भेटिएको छैन ।

इरानले ट्रम्पको सो पोस्टलाई हास्यास्पद भनेको थियो । सामाजिक सञ्जालमार्फत सन्देश दिन खोजेको भन्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ट्रम्पको बचाउ गरेका थिए । अहिलेसम्म अमेरिकाले इरानको मुख्य तेल तथा ग्यास पूर्वाधारमाथि आक्रमण थाँती राख्दै आएको छ । अमेरिकाले आफ्ना ठूला तेल तथा ग्यास पूर्वाधारलाई निशाना बनाएमा पश्चिम एशियाली देशमा विनाशकारी आक्रमण गर्ने चेतावनी इरानले दिँदै आएको छ ।

अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले आइतबार इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई निशाना बनाएको थियो । इरानी रिभोलुसनरी गाड्र्सका सदस्यहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि सीमित र सटीक कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले भनेका छन् ।

तीमध्ये दुई जना रिभोलुसनरी गाड्र्सको नौसैनिक दस्ताका सदस्य रहेको बताइएको छ । लाराक द्वीप स्ट्रेट अफ होर्मुजमा पर्ने सानो द्वीप हो । यस द्वीपबाट इरानको झन्डै ९० प्रतिशत तेल बाहिरिन्छ । इरानी सरकारी टेलिभिजनले स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा दुईवटा समुद्री सुरुङमा ठोक्किएपछि एउटा ठुलो तेल ट्यांकरमा आगलागी भएको दाबी गरेको थियो । तर अमेरिकी सेनाले उक्त दाबी अस्वीकार गरेको छ ।

सैन्य दबाबसँगै आर्थिक नाकाबन्दी पनि तीव्र

अमेरिकाले पछिल्लो समय इरानमाथि सैन्य कारबाहीभन्दा आर्थिक दबाब बढाउने रणनीतिलाई प्राथमिकता दिँदै आएको छ । पछिल्लो समय अमेरिकाले इरानको तेल खरिद गर्ने तेस्रो देशका कम्पनी तथा संस्थालाई समेत लक्षित गर्दै अमेरिकाले दोस्रो तहका प्रतिबन्ध थप कडा बनाएको छ ।  नयाँ प्रतिबन्धको असर अर्थतन्त्रमा देखिन थालेपछि इरान बिच्किएको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भनेका छन् ।

‘अर्थतन्त्रको अवस्था देखेर तिनीहरूलाई झट्का लागेको छ,’ उत्तर क्यारोलिनामा जी२० को अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको एउटा भेलामा बेसेन्टले भनेका थिए । दोस्रो स्तरका नयाँ प्रतिबन्धहरू केही हप्तामै सार्वजनिक गरिने र यो इरानको बैंकमाथि केन्द्रित हुने आइतबार बेसेन्टले रोयटर्सलाई भनेका थिए ।  उनका अनुसार आर्थिक दबाब बढ्दै गएपछि इरानले त्यसको प्रतिक्रिया सैन्य रूपमा दिन थालेको हो । केही हप्ताभित्रै इरानमाथि दोस्रो तहका नयाँ प्रतिबन्ध घोषणा हुन सक्ने बेसेन्टले भनेका छन् । यसको शुरुमा बैंक तथा वित्तीय संस्थालाई लक्षित गरिने उनको भनाइ छ ।

अझै वार्ताको पक्षमा छ इरान

अमेरिका र इरानबिचको पछिल्लो सैन्य तनावका बाबजुद इरानी राष्ट्रपति मसुद पेजेस्कियानले युद्धको अन्त्य वार्ताबाट खोज्नुपर्ने बताएका छन् । किर्गिस्तानमा क्षेत्रीय सुरक्षा बैठकका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा पेजेस्कियानले युद्ध जारी राख्नु इरान, क्षेत्र र मानवताकै हितमा नरहेको बताएका हुन्। तेहरान अझै सहमति र समझदारीको बाटो खोज्ने पक्षमा रहेको उनले बताए ।

ट्रम्पले इरानमाथिको बमबारी अभियान अप्रिलमा अपरेसन एपिक फ्युरी नामकलाई युद्धविराममार्फत रोकेका थिए । त्यसपछि जुनमा वार्ताका लागि अस्थायी सहमतिसमेत बनेको थियो । तर त्यो सहमति टिक्न सकेन । जुलाईमा अमेरिकाले दुई सातासम्म इरानमाथि हवाई आक्रमण गरेको थियो । पछिल्लो एक महिनादेखि अमेरिकाले इरानी बन्दरगाहको नाकाबन्दीमार्फत तेहरानमाथि आर्थिक दबाब बढाउँदै आएको छ । इरानले भने स्ट्रेट अफ होर्मुज बन्द रहेको र आफ्नो निगरानीमा मात्र पुनः खोलिने बताउँदै आएको छ ।

यद्यपि युद्ध सुरु गर्दा ट्रम्पले अघि सारेका प्रमुख उद्देश्य—इरानको आणविक कार्यक्रम ध्वस्त पार्ने, क्षेत्रीय प्रतिद्वन्द्वीमाथि आक्रमण गर्ने उसको क्षमता घटाउने र इरानको धार्मिक शासनविरुद्ध जनविद्रोहका लागि परिस्थिति सिर्जना गर्ने—अझै पूर्ण रूपमा हासिल हुन सकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट