चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरिरहेका कारण तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था नरहेपछि वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने र चिरिने क्रम जारी छ। हाल सडकको करिब १०० मिटर भाग भासिएको तथा चर्किएको छ। जोखिम बढेपछि पैदल यात्रासमेत रोकिएको छ।
उनका अनुसार तत्काल सडक मर्मत गर्न सम्भव नभएकाले विज्ञको टोलीले वैकल्पिक मार्गको अध्ययन गरिरहेको छ। पश्चिम खण्ड प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीले नदीको कटानका कारण सडकको भित्तासमेत चर्किएकाले तत्काल सडक सञ्चालनमा ल्याउन नसकिने बताइन्।
“खोलाले सडकको फेद कटान गरिरहेको छ। कति भागसम्म भासिन्छ भन्ने अहिले नै यकिन गर्न सकिने अवस्था छैन,” उनले भनिन्।
उनका अनुसार सडक माथिको डाँडाको अवस्थासमेत अध्ययन भइरहेको छ। माथिल्लो क्षेत्रमा बस्ती रहेकाले सडकको भित्तो काटेर तत्काल मार्ग खुलाउन पनि सम्भव छैन। विषय विज्ञबाट विस्तृत अध्ययन भएपछि मात्रै सडक कसरी पुनःनिर्माण वा सुरक्षित गर्ने भन्ने टुंगो लाग्ने उनले बताइन्।
सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलोबजार–धादिङबेँसी–सल्यानटार–गोरखालगायत वैकल्पिक सडकको अध्ययन भइरहेको छ।
पृथ्वी राजमार्गबाट त्रिशूली नदी पार गरी तुलनात्मक रूपमा सहज सडकमार्फत गन्तव्यसम्म पुग्न सकिने मार्गको समेत खोजी भइरहेको अधिकारीहरूले बताएका छन्। तत्काल सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने सडक पहिचान गरी यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ।
पूर्वबाट आउने सवारीसाधनले मकवानपुरतर्फका सडक प्रयोग गर्न सक्नेछन् भने पश्चिम तथा पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।
पृथ्वी राजमार्गलाई राजधानी जोड्ने प्रमुख ‘लाइफलाइन’ सडकका रूपमा लिइन्छ। यही मार्ग हुँदै ग्यासका बुलेटलगायत ठूला मालवाहक सवारीसाधनसमेत काठमाडौं प्रवेश गर्ने गरेका छन्।
यस सडकखण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्। केही वर्षअघिसम्म समस्या दिँदै आएको कृष्णभीरमा मर्मतसम्भार तथा पहिरो नियन्त्रणका काम गरिएपछि पछिल्ला वर्षमा भने ठूलो समस्या देखिएको थिएन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij