Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रसुवामा सेनाको उद्धार अभियान तीव्र, थप २५७ जनाको हेलिकोप्टरमार्फत उद्धार

रसुवामा सेनाको उद्धार अभियान तीव्र, थप २५७ जनाको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौं : बाढीबाट प्रभावित रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ क्षेत्रबाट नेपाली सेनाले थप २५७ जनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।

शुक्रबार गरिएको उद्धारमा ४० जना विदेशी नागरिकसहित २५७ जनालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

बाढी तथा पहिरोका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँशी र मैलुङ क्षेत्र अत्यधिक प्रभावित भएका छन्। सडक तथा यातायात सम्पर्क अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा रहेका नागरिकको उद्धारका लागि सेनाले हेलिकोप्टर परिचालन गर्दै आएको छ।

यसअघि पनि सेनाले सोही क्षेत्रबाट ४४९ जनाको उद्धार गरिसकेको थियो। शुक्रबार थप २५७ जनाको उद्धार भएसँगै टिमुरे, स्याफ्रुबेँशी र मैलुङ क्षेत्रबाट हालसम्म ७०६ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका करिब ४ हजार ५ सय सैनिक परिचालन गरिएको छ। सेनाले उद्धारसँगै प्रभावित नागरिकलाई आपत्कालीन स्वास्थ्य उपचार उपलब्ध गराउने तथा राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पुर्‍याउने काम गरिरहेको जनाएको छ।

प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेपछि नेपाली सेनाले स्थल तथा हवाई माध्यमबाट उद्धार अभियानलाई निरन्तरता दिएको छ। जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित स्थानमा सार्ने तथा आवश्यक राहत र उपचार सेवा उपलब्ध गराउने कार्य भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij