Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

विपत्तिमा शवबाट सुन लुट्ने, अफवाह फैलाउने र सिलिन्डर खोस्ने सबै प्रहरीको नजरमा

विपत्तिमा शवबाट सुन लुट्ने, अफवाह फैलाउने र सिलिन्डर खोस्ने सबै प्रहरीको नजरमा

काठमाडौं : रसुवा बाढीपछि भइरहेका गैरकानुनी तथा अमानवीय गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ । शवबाट सुन लुटिएको तथा बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गरिएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘नोटिस’मा राखेको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले प्रहरीको मुख्य प्राथमिकता घाइतेको उद्धार तथा उपचार, मृतकको शव पहिचान र बेपत्ताको खोजीमा केन्द्रित छ। प्राथमिक उद्धारका काम सकिएपछि गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिने उनले बताए। ‘कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छुट पाउने छैन,’ काफ्लेले भने।

बाढीले बगाएको एउटा शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यस्तै, चितवनको नारायणी नदीमा बाढी पुगेपछि ग्यास सिलिन्डर खोसाखोस गरेको दृश्यसमेत सार्वजनिक भएको थियो। यस्ता घटनासँगै विपद्को समयमा भ्रमपूर्ण सूचना फैलाउने, जनजीवनमा त्रास सिर्जना गर्ने र भ्युज बटुल्ने उद्देश्यले विभत्स दृश्य प्रसारण गर्नेहरूमाथि समेत प्रहरीले निगरानी गरिरहेको काफ्लेले बताए।

‘मिसइन्फर्मेसन–डिसइन्फर्मेसनदेखि भाइरल हुन विभत्स दृश्य अपलोड गरिएका सबै कुरा हामीले बुझिरहेका छौँ,’ उनले भने। सोही विषयमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपदका बेला स्वार्थपूर्ति गर्न खोज्नेहरुमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका थिए।

नेता शाहीले यस्तो अप्ठेरो परेको बेला लाशलाई समेत नाछाड्नेहरुमाथि कडा कारबाही हुनुपर्ने बताएका थिए । शवबाट सुन लुछेको घटनापछि रास्वपाका सांसद जगदीश खरेलले पनि नेपाली समाज कहाँ गइरहेको छ भन्दै प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट