काठमाडौंः इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पको हत्या गर्नेलाई इरानमा १ करोड अमेरिकी डलर इनाम घोषणा गरेको दाबी गरिएको भिडियो सार्वजनिक भएसँगै अमेरिका–इरान तनाव थप चर्किएको छ।
इरानको सरकारी टेलिभिजनमा प्रसारित उक्त भिडियो इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित च्यानल–३ बाट प्रसारित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। भिडियोमा २० वर्षीय ब्यारोन ट्रम्पलाई लक्षित गरिएको र उनको सुरक्षा व्यवस्था, सम्भावित ठेगाना तथा दैनिक गतिविधिबारे ग्राफिक्समार्फत विवरण प्रस्तुत गरिएको दाबी गरिएको छ।
अमेरिकी सुरक्षा निकायहरूले उक्त धम्कीलाई गम्भीर रूपमा लिएको बताइएको छ। ट्रम्प परिवारलाई इरानबाट यसअघि पनि धम्की आउने गरेको उल्लेख गरिएको छ। यद्यपि, उपलब्ध विवरणमा उक्त इनामसम्बन्धी घोषणा इरान सरकारको औपचारिक नीति वा निर्णय हो भन्ने स्वतन्त्र पुष्टि भने गरिएको छैन।
अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्धको घोषणा, पाँच सम्पत्तिमा नजर
यसैगरी, इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन्। नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन्।
नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ। इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई क्षेत्र र सामुद्रिकसँगै अन्य ढुवानीका इलाकामा प्रतिबन्ध लगाउँदै इरानलाई अमेरिकाले कमजोर बनाउन खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।
उक्त प्रतिबन्धमा इरानसँग व्यापार गरिरहेका राष्ट्रहरूलाई समेत निसाना बनाइएको छ। ‘इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य हो,’ उनले भनेका छन्।
अबदेखि विश्वका मुलुकहरूले इरान र अमेरिकामध्ये एक रोज्नुपर्ने उनले बताएका छन्। ‘अमेरिकी प्रतिबन्धभन्दा माथि कोही पनि छैन,’ उनको भनाइ उद्धृत गर्दै अलजजिराले भनेको छ।
इरानको आम्दानीमा सहयोग गर्ने जो कोही राष्ट्र अमेरिकी निसानामा पर्ने चेतावनी उनले दिएका छन्। ‘यदि कसैलै तेल खरिद गरेर होस् वा अन्य माध्यमबाट इरानलाई आम्दानी गर्न सघाइरहेको छ भने त्यो अमेरिकी निसानामा पर्नेछ,’ उनले भनेका छन्।
यो प्रतिबन्धलाई ‘इकोनोमिक डी–डे’ नाम दिइएको हो। इरानसँग युद्ध लडेको ६ महिनापछि अमेरिकाले नयाँ प्रतिबन्ध अघि सारेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको पटक–पटकको धम्की र आक्रमणबाट पनि इरान नगलेपछि उसलाई सम्झौताका लागि दबाब दिन नयाँ प्रतिबन्ध घोषणा गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इरानी प्रतिबन्धमा बृहत्तर साथ जुटाउनका लागि अमेरिकाले भनेको छ, ‘जसले अमेरिकी नीतिलाई साथ दिन्छ उसले यसबाट लाभ पनि पाउँछ। जसले इरानलाई साथ दिने छ ऊ एक्लो हुनुको अन्य विकल्प हुने छैन।’
होर्मुज बन्द गर्ने इरानको चेतावनी
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाइले अमेरिकाले आर्थिक दबाबको अभियान जारी राखेमा खाडी क्षेत्रबाट हुने सबै तेल निर्यात रोक्न सकिने चेतावनी दिएका छन्। उनका अनुसार इरानमाथि अमेरिकी प्रतिबन्धलाई कुनै पनि देशले समर्थन गरे त्यसलाई इरानविरुद्धको युद्धमा सहभागी भएको रूपमा लिइनेछ।
यसैबीच, ओमानको उत्तरपूर्वी समुद्री क्षेत्रमा एउटा तेल ट्यांकर अज्ञात प्रक्षेप्यास्त्र वा वस्तुको प्रहारबाट क्षतिग्रस्त भएको खबर आएको छ। बेलायती समुद्री व्यापार सञ्चालन निकायका अनुसार घटना ओमानको अश शिशाहबाट करिब ९ समुद्री माइल उत्तरपूर्वमा भएको हो। जहाजका चालक दल भने सुरक्षित रहेको बताइएको छ।
तनाव कम गर्ने प्रयासस्वरूप ओमानका विदेशमन्त्री सय्यद बद्र अल–बुसैदी आज तेहरान जाने भएका छन्। उनले इरानी अधिकारीहरूसँग स्ट्रेट अफ होर्मुजको अवस्थालगायत क्षेत्रीय तनावका विषयमा छलफल गर्ने बताइएको छ।
मानवीय सहायता बोकेका जहाजलाई बाटो
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहतर्फ मानवीय सहायता बोकेर गएका ४० भन्दा बढी जहाजलाई अमेरिकी नौसैनिक नाकाबन्दी पार गर्न अनुमति दिइएको छ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल असिम मुनीरसँगको भेटमा अमेरिकाले इरानप्रतिको आफ्नो भाषा र व्यवहार सुधार्नुपर्ने बताएका छन्। दबाब र धम्कीको नीति अपनाउँदा समस्या समाधान हुनुको सट्टा थप जटिल बन्ने उनको भनाइ छ।
इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता होसेन मोहिबीले इरानको पूर्वाधारमाथि आक्रमण भए अमेरिकी ऊर्जा आपूर्ति मार्ग र महत्वपूर्ण रणनीतिक स्वार्थमाथि ठूलो स्तरको आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। यसरी अमेरिकी नयाँ आर्थिक प्रतिबन्ध, होर्मुजमा बढ्दो तनाव र दुवै पक्षबाट आएका सैन्य चेतावनीका कारण इरान–अमेरिका द्वन्द्व थप गम्भीर बन्ने जोखिम बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij