Logo

Aug 24 2026 | २०८३, भाद्र ८गते

प्रचण्डको चिन्ता– सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुक

प्रचण्डको चिन्ता– सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुक

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटबाट गुज्रिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले वर्तमान संकटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए। उनले राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई पर्याप्त प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण परिस्थिति सिर्जना भएको बताए। विगतका कमजोरीलाई लिएर एक–अर्कामाथि दोषारोपण गर्नुभन्दा सबै राजनीतिक शक्तिले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ।

प्रचण्डले अहिले मुलुकको अवस्था निकै गम्भीर रहेको उल्लेख गर्दै सुगौली सन्धिपछि राष्ट्रिय स्वाधीनतामाथि यति ठूलो संकट आफूले नदेखेको दाबी गरे। जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न पनि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने उनले बताए।

‘अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनतामा सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन। यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो,’ प्रचण्डले भने।

राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग ‘नङ र मासु’को जस्तै सम्बन्ध रहेको उल्लेख गर्दै उनले विभिन्न कम्युनिस्ट शक्तिलाई साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

उनले वर्तमान चुनौतीको सामना गर्न विचार मिल्ने शक्तिबीच सहकार्य, एकता र साझा मोर्चा आवश्यक रहेको बताए। कम्युनिस्ट शक्तिहरूको एकता र सहकार्यबाट मात्रै राष्ट्रिय स्वाधीनताको रक्षा तथा सुदृढीकरण गर्न सकिने उनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij