चितवन : आफ्नै १९ वर्षीया छोरीलाई डरधम्की देखाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका ४५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। पीडित युवतीले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। प्रहरीले उजुरीका आधारमा आरोपितलाई भदौ ४ गते पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार आरोपितकी श्रीमती र छोरा वैदेशिक रोजगारीका क्रममा जापानमा बस्दै आएका छन्। छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भन्दै आरोपित करिब आठ महिनाअघि नेपाल फर्किएका थिए। त्यसपछि उनी र छोरी मात्रै घरमा बस्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार गत साउन २८ गते मादक पदार्थ सेवन गरेका आरोपितले छोरीलाई डरधम्की देखाएर जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा आरोपितले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। पक्राउ परेका आरोपितमाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij