बाङ्गुई : मध्य अफ्रिकी गणतन्त्रको पश्चिमी क्षेत्रमा क्यामरुनको सीमाना नजिकै एउटा सानो स्तरको सुनखानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार मंगलबार भएको दुर्घटनापछि उद्धार कार्य जारी छ र भग्नावशेषमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ ।
क्यामरुनी सञ्चारमाध्यमका अनुसार दुर्घटना क्यामरुनको पूर्वी क्षेत्रमा पर्ने गारुवा–बुलाइ सहरबाट केही किलोमिटर टाढा रहेको जाम्बोये गाउँमा भएको हो । नाना–माम्बेरे प्रिफेक्चरका उपमेयर सुलेमान बीले बुधबार उद्धारकर्ता र स्थानीय बासिन्दाले केही घण्टाको प्रयासपछि खानीबाट ३० जनाको शव निकालेको बताए । घाइते खानी मजदुरहरूको उपचार भइरहेको उनले जानकारी दिए ।
‘स्थिति भयावह छ । हामी संस्था तथा सहयोग गर्न सक्ने सबैसँग सहायता उपलब्ध गराउन आह्वान गरिरहेका छौँ,’ बीले भने ।
तर स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । बाबुआका स्थानीय अधिकारी लरेन न्गोन बाबाले एएफपीसँग करिब ४० जनाको मृत्यु भएको हुन सक्ने बताए । उनका अनुसार घटनास्थलको अवस्था जटिल रहेकाले तत्काल यकिन मृतक संख्या निर्धारण गर्न कठिन भइरहेको छ ।
घटनास्थलमा काम गर्ने खानी मजदुरका अनुसार जमिन पूरै भासिएर मानिसहरू पुरिएका थिए र उद्धार टोलीले अझै भग्नावशेषमा रहेका मानिसलाई निकाल्ने प्रयास गरिरहेको छ ।
असुरक्षित साना सुनखानीमा बारम्बार दुर्घटना
मध्य अफ्रिकी गणतन्त्रमा यस्ता साना तथा अनौपचारिक सुनखानी भत्किने घटना सामान्य मानिन्छन् । देशका विभिन्न क्षेत्रमा हजारौँ मानिस सरकारी नियन्त्रणबाहिर रहेका साना खानीमा काम गर्छन् । पर्याप्त सुरक्षा उपकरण र प्राविधिक पूर्वाधारको अभावका कारण यस्ता खानीमा काम गर्नु अत्यन्त जोखिमपूर्ण हुने गरेको छ ।
खानी भासिने, पहिरो जाने तथा अन्य दुर्घटनाका कारण प्रत्येक वर्ष ठूलो संख्यामा मजदुरको ज्यान जाने गरेको छ । यसपटकको दुर्घटनामा पनि उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij