काठमाडौँ : भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठ र उनकी धर्मपत्नी कोमल सेठ बुधबार स्वदेश फर्किएका हुन्।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसी र उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, रक्षामन्त्री तथा प्रधान सेनापति अशोक राज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए।
त्यसैगरी, जनरल सेठ नेपाली सेनाद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए। भ्रमणका क्रममा दुई देशबीचको सैनिक सम्बन्ध, आपसी सहयोग तथा सहकार्यका विषयमा छलफल भएको थियो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार भारतीय स्थल सेनाध्यक्षको यस भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउन मद्दत पुगेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij