Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

सुटिङ स्थलमा घाइते भए कार्तिक आर्यन

सुटिङ स्थलमा घाइते भए कार्तिक आर्यन

नयाँ दिल्ली : बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन् । निर्देशक कविर खानको निर्देशनमा बनिरहेको स्पोर्ट्स ड्रामा फिल्मको सुटिङको क्रममा मुम्बईमा कार्तिकको घुँडामा चोट लागेको हो । उनको अस्पतालमा उपचार भइरहेको र एक दुई दिनमा घुँडाको शल्यक्रिया गरिने बताइएको छ । फिल्म छायाङ्कनको अन्तिम चरणमा थियो । फिल्मका महत्त्वपूर्ण दृश्य २ दिनभित्र छायाङ्कन गर्ने तालिका बनाइएको थियो ।

सञ्चारमाध्यमका अनुसार, कार्तिक फिल्मको विशेष दृश्यको तयारीका लागि एक्सन कोचसँग कडा तालिम लिइरहेका थिए । यस फिल्मको नाम भने अझै टुङ्गो लागेको छैन । ‘कार्तिक अहिले फोर्टिस रहेजा अस्पतालमा भर्ना भएका छन् र उपचार गराइरहेका छन् । डाक्टरहरूले एक दिनमा उनको घुँडाको शल्यक्रिया गर्नेछन्, त्यसपछि उनलाई केही दिन आराम गर्नुपर्नेछ । त्यसपछि उनी काममा फर्कन सक्नेछन्,’ निर्माणसँग नजिकको स्रोतले बताएको भन्दै इन्डिया टुडेले समाचार छापेको छ ।

कार्तिक आर्यनले कबीर खानसँग यस अघि ‘चंदु च्याम्पियन’ मा सँगै काम गरेका थिए । यसमा आफ्नो अभिनयका लागि कार्तिकले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए । कामको कुरा गर्ने हो भने कार्तिक आर्यन अब मृगदीप सिंह लाम्बाको निर्देशन र करण जोहरको निर्माणमा बनिरहेको फिल्म ‘नागजिला’ मा पनि देखिनेछन् । ‘क्याप्टेन इन्डिया’ पनि कार्तिकको हातमा छ । यस फिल्ममा उनी पाइलटको भूमिकामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij