Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवनमा एक वर्षमा ६९ वन्यजन्तुको उद्धार, ४२ मृत वन्यजन्तुको व्यवस्थापन

चितवन : डिभिजन वन कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न स्थानबाट ६९ वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ। बस्ती तथा समुदायमा प्रवेश गरेर समस्या सिर्जना गरेका वन्यजन्तुलाई उद्धार गरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै अजिङ्गर छन्। बस्तीमा प्रवेश गरी स्थानीयलाई समस्या बनाएका ४५ अजिङ्गरको उद्धार गरिएको हो।

त्यस्तै चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको कार्यालयले जनाएको छ। बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एकवटा उद्धार गरी व्यवस्थापन गरिएको थियो। कार्यालयका अनुसार सोही अवधिमा विभिन्न कारणले मृत अवस्थामा भेटिएका ४२ वन्यजन्तुको समेत व्यवस्थापन गरिएको छ। मृत वन्यजन्तुमध्ये ३० चित्तल, नौ रतुवा, दुई बँदेल र एक स्याल रहेका छन्।

यसैगरी, डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा अवैध रूपमा काठ तस्करीमा प्रयोग गरिएका २६७ वटा साइकल लिलामी गरेको छ। साइकल लिलामीबाट कार्यालयले दुई लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

चालु आर्थिक वर्षमा भने कार्यालयले ८१ वटा मोटरसाइकल लिलामी गर्ने तयारी गरेको छ। कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका तथा बेवारिसे अवस्थामा फेला परेका मोटरसाइकल लामो समयदेखि कार्यालय परिसरमा राखिएका थिए।

प्रमुख आचार्यका अनुसार मोटरसाइकलसँगै २५ वटा बस, ट्रक, भ्यान, अटो तथा ट्याक्टर र ५९ वटा साइकलको समेत लिलामी प्रक्रिया अघि बढाइएको छ। लामो समयदेखि कार्यालय परिसरमा रहेका सवारीसाधन तथा अन्य सामग्री व्यवस्थापन गर्ने उद्देश्यले लिलामी प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij